Sagun Khabar
महाकाली करिडोर निर्माणको काम सुस्त गतिमा, बर्षेनी बजेट घट्दै 

बैतडी –तराई–हिमाल जोड्ने महाकाली करिडोर निर्माणको काम निकै सुस्त देखिएको छ । त्रिदेशीय नाकाको रुपमा अघि बढाइएको सो सडक निर्माणको गति प्रभावकारी बन्न सकेको छैन् । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा–बैतडी र दार्चुलाको तिंकरसम्म चार सय १३ किलोमिटर सडक २०६६ देखि सुरु गरिएको भए पनि काम अपेक्षाकृत रुपमा हुन नसकेको स्थानीयहरुले बताएका छन् । 

नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको सो सडक निर्माणको प्रगति सन्तोषजनक छैन् । चार सय १३ किलोमिटरमध्ये एक सय २० किलोमिटर सडकखण्डको ट्रयाक खोल्न बाँकी नै रहेको महाकाली करिडोर आयोजनाले जनाएको छ । सबैभन्दा बढी बैतडी ५५, डडेल्धुरामा ३०, दार्चुलामा २५ र कञ्चनपुरमा १० किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी रहेको छ । डडेल्धुरामा रूख कटानको अनुमति नहुँदा काम अघि बढ्न सकेको छैन् । 

Atrya hospital

महाकाली करिडोरका लागि आर्थिक वर्ष २०७८÷७९ मा ८२ करोड ४२ लाख, २०७९÷८० मा ४४ करोड ११ लाख बजेट विनियोजन हुँदा चालू आर्थिक वर्षमा २९ करोड ५० लाख मात्रै छुट्याइएको आयोजना प्रमुख लक्ष्मणदत्त जोशीले बताए । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको सुनसेरासम्मको तीन सय ३४ किलोमिटर सडक आयोजनाले निर्माण गरिरहेको छ। गत वर्ष २७ किलोमिटर सडकको ट्रयाक निर्माण गरिएको थियो । 

दार्चुलाको खलंगादेखि दुहुँ गाउँपालिकाको पीपलचौरी खण्ड र महाकाली नगरपालिकाको बेतदेखि मालिकार्जुन गाउँपालिकाको जोलजीवी–उकु खण्डमा कालोपत्रका लागि ठेक्का सम्झौता भएको छ । करिब ३२ किलोमिटरको सडकखण्ड कालोपत्रे गर्न एक अर्ब ३५ करोडको ठेक्का सम्झौता गरिएको छ ।

करिडोरअन्तर्गतको सुन्सेराको तुषारपानीदेखि तिंकर भन्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माणको काम आव २०७८÷७९ बाट नेपाली सेनाले थालेको छ । उक्त सडकखण्डमा चालू आर्थिक वर्षमा सेनालाई १४ करोड बजेट उपलब्ध गराएको छ। गत वर्ष ९ करोड ३० लाख ३० हजारमा तिंकर सडक निर्माणका लागि सेनालाई दिइएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा २२ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update