Sagun Khabar
रसुवा बाढीपछि बैतडीका आठ जना सम्पर्क विहिन 

बैतडी –रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बैतडीका आठ जना सम्पर्क विहिन भएका छन् । बुधबार बिहानदेखि दुईजना सुरक्षाकर्मीसहित बैतडी घर भएका आठजना सम्पर्क विहिन भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

सम्पर्क विहिन हुनेहरुमा डिलाशैनी गाउँपालिकाका तीन जना, सुर्नया गाउँपालिकाका दुई जना, सिगास, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाका एक ÷एक जना रहेका छन् । 

बैतडीको सुर्नया गाउँपालिका –६ मोतीनगर घर भइ हाल त्रिशुली हाइड्रोपावरमा कार्यरत ३१ बर्षीय हरिश चन्द, सुर्नया गाउँपालिका–५ बिष्टपाली घर भइ लाङटाङ हाइड्रोपावरमा कार्यरत २५ बर्षीय केशव बिष्ट, डिलाशैनी गाउँपालिका–७ धामीगाउँ घर भइ रसुवा हाइड्रोपावरमा कार्यरत ३२ बर्षीय पूर्णसिंह धामी, सोही ठाउँका २७ बर्षीय विशाल धामी र डिलाशैनी–२ छेपट्टा घर भइ सशस्त्र प्रहरीको बिओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी जवान बिनिता बोहरा सम्पर्क विहिन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

यस्तै दोगडाकेदार गाउँपालिका–२ घर भइ प्रहरीचौकी रसुवागढीमा कार्यरत प्रहरी सहायक हवलदार हिक्मत महरा, पञ्चेश्वर गाउँपालिका–६ बिजुल घर भइ हाल रसुवा हाइड्रो पावरमा कार्यरत ४० बर्षीय देवबहादुर चन्द, सिगास गाउँपालिका–७ घर भइ इलाका वन कार्यालय इलाममा कार्यरत २३ बर्षीय लक्ष्मण ऐर पनि सम्पर्क विहिन रहेका प्रहरीले जनाएको छ । ऐर इलामबाट परीक्षा दिनका लागि नुवाकोट गएको बेला सम्पर्क विहिन भएका बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update