Sagun Khabar
स्वास्थ्य कार्यालय बैतडीको परिसरमा रहेको गोदाममा आगलागी 

बैतडी –स्वास्थ्य कार्यालय बैतडीको परिसरभित्र रहेको गोदाममा आगलागी भएको छ । 

आइतबार दिउँसो साढे ३ बजेतिर परिसरभित्र जस्तापाताले छाएका गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । गोदाममा प्रयोग गरिसकेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्री राखिएको प्रहरीले जनाएको छ । 

जिल्ला अस्पताल बैतडीले प्रयोग गर्दै आएका ती गोदाममा कोभिड– १९ को समयदेखि स्टोर गरिएका औषधी, कागजपत्रहरू र फर्निचर लगायतका सामग्री राखिएका थिए । ती मध्ये केही सामाग्रीहरु जलेर नष्ट भएका छन् ।

फोहर जलाउनका लागि बालेको आगोबाट सल्केर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बडूले बताए । 

आगलागीको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update