बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकहरुको लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत र पुनस्र्थापनाका लागि गाउँपालिकाकातर्फबाट ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
विपद्को कठीन घडीमा एक आपसमा सहयोग र समन्वयका साथ अघि बढ्न आग्रह गर्दै गाउँपालिकाकातर्फबाट उक्त रकम जमा गर्ने निर्णय भएको उनले बताए ।
यसअघि जिल्लाको दशरथचन्द नगरपालिकाले ३ लाख , पाटन नगरपालिकाले २ लाख ५० हजार, शिवनाथ गाउँपालिकाले २ लाख, दोगडाकेदार गाउँपालिकाले २ लाख र सिगास गाउँपालिकाले १ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय गरिसकेका छन् ।




