बैतडी–भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्क विहिन भएका बैतडीका आठ जनाको अवस्था अझै अज्ञात रहेको छ । उनीहरु सम्पर्क विहिन भएको चार दिन बितिसक्दा समेत केही जानकारी नआएपछि परिवारजन चिन्तमा परेका छन् ।
भोटेकोशी नदीमा आएको बाढी पछि डिलाशैनी गाउँपालिकाका तीन जना, सुर्नया गाउँपालिकाका दुई जना, सिगास, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाका एक ÷एक जना सम्पर्क विहिन रहेका छन् ।
बाढीपछि सम्पर्क विहिन भएका सुर्नया–५ ककस्यालीका २५ बर्षीय केशव बिष्टको अवस्था अज्ञात हुँदा उनको घर परिवार निकै चिन्तामा परेको छ । लाङटाङ हाइड्रो पावरमा सव इन्जिनियर पदमा कार्यरत बिष्टको अवस्थाबारे अहिले सम्म केही थाहा हुन नसकेको उनका काका भानबहादुर बिष्टले बताए । उनले भने, ‘केशव सम्पर्क विहिन भएको चार दिन भइसक्यो । खोज्न पनि कहाँ जाने ? घरमा आमा–बुवालाई सम्झाउन समेत निकै कठीन भएको छ ।’
सुर्नया गाउँपालिका –६ मोतीनगर घर भइ हाल त्रिशुली हाइड्रोपावरमा कार्यरत ३१ बर्षीय हरिश चन्दको अवस्थामा पनि अज्ञात रहेको छ । बाढीपछि सम्पर्कविहिन भएका चन्द अहिले सम्म सम्पर्कमा आउन नसकेका स्थानीय कमला चन्दले बताइन् । बाढीपछि सम्पर्क विहिन भएका हरिश सम्पर्क नआउँदा घरपरिवारमा चिन्ता थपिएको उनले बताइन् । उनले भनिन् ‘चाडपर्वको मुखमा दुखद घटना भएको छ । बाढीपछि सम्पर्क विहिन भएकाहरुको अवस्था थाहा नहुँदा परिवारलाई झन् समस्या भएको छ ।’
डिलाशैनी गाउँपालिका–७ धामीगाउँ घर भइ रसुवा हाइड्रोपावरमा कार्यरत ३२ बर्षीय पूर्णसिंह धामी, सोही ठाउँका २७ बर्षीय विशाल धामी र डिलाशैनी–२ छेपट्टा घर भइ सशस्त्र प्रहरीको बिओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी जवान बिनिता बोहराको पनि अवस्था अज्ञात नै रहेको छ । उनीहरु सम्पर्क विहिन भएको चार दिन भइसक्दा समेत अवस्था थाहा नभएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
यस्तै दोगडाकेदार गाउँपालिका–२ घर भइ प्रहरीचौकी रसुवागढीमा कार्यरत प्रहरी सहायक हवलदार हिक्मत महरा, पञ्चेश्वर गाउँपालिका–६ बिजुल घर भइ हाल रसुवा हाइड्रो पावरमा कार्यरत ४० बर्षीय देवबहादुर चन्द, सिगास गाउँपालिका–७ घर भइ इलाका वन कार्यालय इलाममा कार्यरत २३ बर्षीय लक्ष्मण ऐरको अवस्था पनि अज्ञात रहेको छ ।
सम्पर्क विहिन भएकाहरुको अवस्था अज्ञात हुँदा घरपरिवारलाई सम्हालिनै गाह्रो भएको छ ।




