बैतडी–जिल्ला प्रहरी कार्यालय बैतडीले गएको वैशाख महिनामा सम्पादन गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने काम अन्तर्गत जिल्ला प्रहरी कार्यालयमार्फत एक महिना सम्पादन भएका कामहरुको विवरण सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
एक महिनाको अवधिमा बैतडी प्रहरीले ८ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । अदालतबाट विभिन्न समयमा फैसला भइ सजाय तोकिएका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गएको वैशाख महिनामा प्रहरीमा ७ ओटा घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा सातओटै मिलापत्रमा टुंगिएको जनाएको छ ।
यस्तै प्रहरीले समुदायसँग मिलेर अपराधका घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम जारी राखेको जनाएको छ । एक महिनाको अवधिमा १ सय १७ ठाउँमा समुदायस्तरीय कार्यक्रम र १५ ओटा विद्यालयमा विद्यालयस्तरीय कार्यक्रम सञ्चालन गरिएको प्रहरी निरीक्षक सिंहले बताए । ती कार्यक्रमहरुमा डेढ हजार बढी नागरिकको सहभागिता रहेको जनाइएको छ ।
समुदाय र विद्यालयमा सञ्चालन भएका कार्यक्रममा लागू औषध दुर्व्यसन रोकथाम, घरेलु हिंसा रोकथाम, अपराध न्यूनीकरण र विभिन्न कानुनका बिषयमा छलफल गरिएको प्रहरी निरीक्षक सिंहले बताए ।
यस्तै एक महिनाको अवधिमा बैतडीमा ट्राफिक नियम उल्लंघन गर्ने १ सय ५२ सवारी साधन कारवाहीमा परेका छन् । त्यस्ता सवारी साधनबाट १ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
बैतडीमा एक महिनाको अवधिमा ८ ओटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका थिए । यी सवारी दुर्घटनामा ५ ओटा चालकको लापरवाहीका कारण भएका थिए भने सवारी साधन, यात्रु र सडकको अवस्थाका कारण ३ ओटा दुर्घटना भएको प्रहरीको विश्लेषण छ ।
यस्तै एक महिनाको अवधिमा सातओटा ठाडो उजुरी दर्ता भएको सबै फच्र्यौट गरिएको प्रहरी निरीक्षक सिंहले बताए ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी कर्मचारीको मनोबल बढाउने कामहरु समेत गरेको जनाएको छ । पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा ५ जना प्रहरी कर्मचारीलाई ६५ दिने विल्डिङ वाइरिङ तालिममा सहभागी गराएको, ४५ जनालाई भीड नियन्त्रण अनुशिक्षण तालिम दिइएको र ८२ जनालाई मानव अधिकार तथा प्रहरी आचारसंहिता सम्बन्धी प्रशिक्षण दिइएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।





