कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस नेता कमलबहादुर शाहले शेरबहादुर देउवालाई टिकट किन नदिएको भन्दै प्रश्न उठाएका छन् ।
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले देउवालाई टिकटबाट देउवालाई वञ्चित गराएको बिषयमा सभापति गगनकुमार थापासँग जवाफ मागेका छन् । उनले पार्टीभित्र देउवाको हैसियतका बिषयमा समेत प्रष्ट पार्न आग्रह गरेका छन् । उनले प्रश्न गर्दै भने, ‘आज शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ? अब उहाँको स्थान कहाँ हुन्छ ?’
शाहले पार्टीभित्र नेतृत्वको सम्मान र योगदानको मूल्यांकन हुनुपर्ने धारणा समेत राखे । उनले धनगढीमा सभापति आउँदा कार्यक्रमभन्दा सरकार परिवर्तनको चर्चा बढी भएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाए । सभापतिले समानुपातिक सांसदलाई फिर्ता बोलाएर भए पनि सरकार परिवर्तनको विषय उठाएकोप्रति उनले आपत्ति व्यक्त गरे ।
शाहले कांग्रेस र पार्टी सभापतिलाई कमजोर बनाउने गतिविधिबाट सावधान रहन आग्रह गर्दै आफू मुख्यमन्त्री पद जोगाउन नभई पार्टी एकताका लागि कार्यक्रममा आएको बताए । ‘म मुख्यमन्त्री पद जोगाउन विमानस्थल गएको होइन, यो मञ्चमा आएको पनि होइन । सिंगो कांग्रेस एक होस् भन्ने मनसायका साथ यहाँ उपस्थित भएको हुँ,’ उनले भने ।
शाहले वर्तमान राजनीतिक परिस्थितिलाई बुझेर नयाँ र पुराना पुस्तालाई सँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । कांग्रेसलाई एकताबद्ध बनाएर संघर्ष गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्र सहकार्य र एकताको वातावरण निर्माण गर्न सुझाव दिएका थिए ।





