बैतडी–सरकारले सुदूरपश्चिमका २३ सहित देशभरका ७८ ओटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार निर्णय गरेर नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो ।
मन्त्रालयले बैतडीको डिलाशैनी गाउँपालिकामा लोकेन्द्रसिंह नेगीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ । उक्त गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको थियो ।
यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिकामा विष्णु साहनी, अपिहिमाल गाउँपालिकामा लोकेन्द्रबहादुर बिष्ट र व्याँस गाउँपालिकामा हरि पौडेललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ ।
यसैगरी डडेल्धुराको आलिताल गाउँपालिकामा कृष्णानन्द जोशी र नवदुर्गा गाउँपालिकामा दुर्गादत्त भट्टलाई खटाइएको मन्त्रालयले जनाएको छ ।
यस्तै बझाङको केदरास्युँ गाउँपालिकामा लक्ष्मीप्रसाद उपाध्याय, बित्थडचीर गाउँपालिकामा शम्भु ठकुल्ला, साइपाल गाउँपालिकामा शिवराज जोशी, छबिसपाथिभेरा गाउँपालिकामा टेकबहादुर रावत, तलकोट गाउँपालिकामा सुभाष खड्का र सुर्मा गाउँपालिकामा चन्द्रदेव जोशीलाई खटाइएको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रमेशसिंह भण्डारी, खप्तड छेडदह गाउँपालिकामा टेकबहादुर मौनी र जगन्नाथ गाउँपालिकामा हेमन्त चुनारालाई खटाइएको छ ।
अछामको चौरपाटी गाउँपालिकामा कृष्णप्रसाद पौड्याल, मेल्लेख गाउँपालिकामा कमलप्रसाद पराजुली र बान्नीगढी जयगढ गाउँपालिकामा सुरेशप्रसाद जोशीलाई खटाइएको मन्त्रालयले जनाएको छ ।
यस्तै डोटीको बडीकेदार गाउँपालिकामा डिल्लीराम भट्ट, सायल गाउँपालिकामा नवीनकुमार खड्का र आदर्श गाउँपालिकामा भुवनराज पाण्डेलाई खटाइएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा धर्मबहादुर थारु र कैलारी गाउँपालिकामा दलबहादुर धामीलाई खटाइएको छ । धामीको बैतडीको मेलौली नगरपालिकाबाट सरुवा गरेको हो ।





