कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतिनिधि सभाको निर्वाचनमा मतदान गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कैलाली क्षेत्र नम्बर २, लम्किचुहा नगरपालिका–१ को कालिका माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर दिउँसो ३ बजेर २५ मिनेटमा मतदान गरेका हुन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार मुख्यमन्त्री शाहको मतदाता क्रमसंख्या ७५३ रहेको छ ।
मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने क्रममा रहेको भन्दै खुशी व्यक्त गरे । उनले निर्वाचनलाई सफल बनाउन खटिएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय तथा आम मतदाताहरूलाई शुभकामना तथा धन्यवाद व्यक्त गरे ।
त्यसैगरी, भ्रष्टाचार न्यूनीकरण र सुशासनको माग गर्दै भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा शाहदत प्राप्त गर्ने सम्पूर्ण शहीदप्रति उनले श्रद्धाञ्जली अर्पण गरे ।
मुख्यमन्त्री शाहले निर्वाचनले लोकतन्त्रको स्थायित्व कायम हुने, संविधानको प्रभावकारी कार्यान्वयन हुने तथा लोकतान्त्रिक प्रणाली अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन् ।




