Sagun Khabar
धनगढीमा  झडप गर्ने १२ जनामाथि अनुसन्धान शुरु, घाइतेको उपचार हुँदै 

कैलाली –धनगढी उपमहानगरपालिका –१३ कैलाली गाउँमा मंगलबार साँझ होली मनाउने क्रममा उत्पन्न विवाद उग्र बन्दै प्रहरीमाथि नै आक्रमण भएपछि पक्राउ परेका १२ जनामाथि विस्तृत अनुसन्धान शुरु गरिएको छ । झडपका क्रममा टाउकोमा गहिरो चोट लागेका असई डबल साउदको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार घटनास्थलबाटै नियन्त्रणमा लिइएका १२ जनामाथि बुधबार बिहानदेखि सोधपुछ तथा थप अनुसन्धान अघि बढाइएको हो । प्रहरीका अनुसार होली खेल्ने क्रममा दुई पक्षबीच सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार घटना बालबालिकाबीचको सामान्य झगडाबाट सुरु भए पनि पछि वयस्कहरू समेत मिसिएर प्रहरीमाथि आक्रमण भएको देखिएको छ । 
झडपका क्रममा गम्भीर घाइते भएका असई डबल साउदको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ । यस्तै, प्रहरी निरीक्षक बलराम पाण्डे र अन्य दुई घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै स्थानीय समूह जाइलागेको थियो । भीड अनियन्त्रित बनेपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेर अवस्था नियन्त्रणमा लिएको थियो । घटनाका क्रममा प्रहरीको गाडीमा समेत क्षति पुगेको थियो । 
 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update