बैतडी–पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान यही माघ २२ गतदेखि शुरु हुने भएको छ । देशभरजस्तै बैतडीमा पनि माघ २२ गतदेखि खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
पालिकाहरुले खोप अभियान सञ्चालनका लागि मिचित तय गरिसकेका छन् । बैतडीका १० ओटै स्थानीय तहमा खोप अभियान सञ्चालन हुने भट्टले बताए ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० दृखि १४ बर्ष उमेरका किशोरीहरुलाई एचपीभी खोप दिइने तयारी भएको हो । उक्त अभियानका लागि तयारी भइरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए ।
देशैभरी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने भएको हो ।
बैतडीको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकामा माघ २२ गतेदेखि फागुन २६ गतेसम्म खोप अभियान सञ्चालनको तयारी रहेको छ ।
यस्तै पाटन नगरपालिकामा माघ २२ देखि २७ गते, दोगडाकेदार गाउँपालिकामा माघ २२ देखि २४ गते, शिवनाथ गाउँपालिकामा माघ २२ देखि २५ गते र मेलौली नगरपालिकामा माघ २७ देखि ३० गतेसम्म खोप अभियान सञ्चालनको तयारी भएको छ ।
यस्तै सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकामा माघ २७ देखि फागुन १ गतेसम्म खोप अभियान सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बैतडीमा १३ हजार ५ सय ६४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइने तयारी रहेको खोप सुपरभाइजर भट्टले जानकारी दिए ।
अभियान अन्तर्गत जिल्लाभरीका विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार २६३ जना किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष सम्मका ३ सय ७१ जना किशोरी गरेर १३ हजार ५६४ जनालाई एचपीभी खोप दिने तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए ।
बैतडीमा माध्यमिक तहका २ सय ३८ ओटा विद्यालय र ९० ओटा स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र तोकिएको छ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण हरेक दिन चार जना महिलाको ज्यान जाने गरेको तथ्यांक छ । त्यसैले महिलाहरुमा क्यान्सर रोग लाग्न नदिन खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।