Sagun Khabar
महाकाली कोरिडोरको ४५ किलोमिटर ट्रयाक खोल्न बाँकी 

दार्चुला –सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको महाकाली कोरिडोरको ४५ किलोमिटर ट्रयाक खोल्न अझै बाँकी रहेको छ । 

नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गरिरहेको कोरिडोरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसार १८ अर्ब रुपैयाँ लागत रहेको महाकाली कोरिडोर सडक योजनाका कार्यालय प्रमुख ईश्वर कार्कीले जानकारी दिए । हालसम्म गरिएको निर्माणमा चार अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

कोरिडोर निर्माणका लागि १४ अर्ब रुपैयाँको काम हुन बाँकी रहेको उनले बताए ।  आर्थिक वर्ष २०६५÷६६ देखि निर्माण सुरु भएको कोरिडोरको ३३४ किलोमिटरमध्ये हालसम्म २८८.५ किलोमिटरमा ट्र्याक खोलेको उनले बताए ।    

कोरिडोरको कुल लम्बाइ ४१३ किलोमिटरमध्ये ३३४ किलोमिटर सडक महाकाली कोरिडोर सडक निर्माण योजनाले निर्माण गरिरहेको छ भने दार्चुलास्थित ७९ किलोमिटर सडकको निर्माण नेपाली सेनाले गरिरहेको छ । कोरिडोरको कञ्चनपुरमा पर्ने ११ किलोमिटर, डडेलधुरामा ५८ किलोमिटरमध्ये ३२ किलोमिटर, बैतडीको १४४ किलोमिटरमध्ये १४१.५ किलोमिटर र दार्चुलाको १२१ किलोमिटरमध्ये १०४ किलोमिटर सडकको ट्र्याक खुलेको उनले बताए । अब ४५.५ किलोमिटरमा मात्रै ट्र्याक खोल्न बाँकी रहेको छ ।

डडेलधुरामा २६ किलोमिटर, बैतडीमा २.५ किलोमिटर र दार्चुलामा १७ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको तथा चालु आर्थिक वर्ष २०८३÷८४ मा १५ किलोमिटर नयाँ ट्र्याक खोल्ने योजना रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमै १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख कार्कीले बताए । योजनाले विभिन्न ठेक्काको एक अर्ब रुपैयाँ दायित्व भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ ।  
 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update