बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक तथा आर्थिक कामहरु प्रभावित भएका छन् ।
पटक–पटक प्रमुख प्रशासकीय अधिकृतको समस्या झेल्दै आएको सुर्नया गाउँपालिकामा पछिल्लो समयमा समेत प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको बताइएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि मात्रै गोविन्दप्रसाद आचार्यलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको भएपनि उनले तत्काल हाजिर हुन सक्ने अवस्था नरहेको बताए ।
स्वास्थ्य समस्याका कारण आफू तत्काल गाउँपालिकामा हाजिर हुन नसक्ने आचार्यले बताए । आफूले मन्त्रालयमा पनि जानकारी गराइसकेको उनले बताए ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएका आचार्य तत्काल हाजिर नहुने भएपछि आर्थिक तथा प्रशासनिक कामहरु सम्पादनमा समस्या भएको छ ।
यता गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले भने आचार्य गाउँपालिकामा हाजिर हुन नसक्ने र स्वास्थ्य समस्याका बारेमा आफूलाई जानकारी नभएको बताए । आचार्यलाई गाउँपालिकामा खटाएको बिषयमा जानकारी भएपनि उनी हाजिर हुन नसक्ने बिषयमा कुनै जानकारी नभएको उनले बताए ।
सुर्नया गाउँपालिकामा बेला–बेलामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या हुने गरेको छ । गत आर्थिक बर्षको अन्त्यतिर समेत गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको समस्या झेलेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र विक आर्थिक बर्षको अन्त्यतिर सरुवा भएपछि समन्वय अधिकारी रघुनाथ अवस्थीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
केही दिन अघिमात्रै मन्त्रालयले आचार्यलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएपछि समस्या समाधान हुने अपेक्षा गरिएको थियो । तर आचार्यले स्वास्थ्य समस्याका कारण आउन नसक्ने बताएपछि अन्यौल सिर्जना भएको छ ।




