Sagun Khabar
श्रीकोट स्वास्थ्यचौकीको प्रयोगशाला सारिएपछि सेवाग्राही मारमा 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–३ स्थित श्रीकोट स्वास्थ्यचौकीको प्रयोगशाला सारिएपछि सेवाग्राही मारमा परेका छन् । 

दोगडाकेदार गाउँपालिकाले आधारभूत अस्पतालबाटै प्रयोगशाला सेवा दिने भन्दै गएको असारमै प्रयोगशालाका सामग्री सारेको थियो । गाउँपालिकाको आधारभूत अस्पताल वडा नं ६ सित्तडमा निर्माण गरिएको छ । अहिलेसम्म आधारभूत अस्पतालबाट पनि उक्त सेवा सञ्चालन हुन सकेको छैन् । 

स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा बन्द गरिएपछि स्थानीयबासीहरुलाई समस्या भएको स्थानीय गणेश बिष्टले बताए । सामान्य चेकजाँचका लागि बिरामीहरुले जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रही आएको उनले बताए । गाउँपालिकाले वैकल्पिक व्यवस्था नगरेरै प्रयोगशाला सेवा बन्द गरेकोमा स्थानीयहरु आक्रोशित भएका छन् । 

श्रीकोट स्वास्थ्यचौकीमा २०७५ सालदेखि प्रयोगशाला सेवा सञ्चालनमा रहेको थियो । उक्त प्रयोगशालामा रगत, दिसापिसाब, खकार चेकजाँच हुने गरेको थियो । गएको असार दोश्रो साताबाट स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा बन्द रहेको स्वास्थ्यचौकी प्रमुख बीरसिंह भाटले बताए । 

प्रयोगशाला सेवाका लागि बिरामीहरु आउने गरेको भएपनि उक्त सेवा बन्द भएपछि सामान्य चेकजाँचका लागि जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको उनले बताए । 

यता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले आधारभूत अस्पतालबाटै बृहत रुपमा प्रयोगशाला सेवा सञ्चालन गर्ने उद्देश्यले सामग्रीहरु सारिएको बताए । यही भदौ महिनाबाट आधारभूत अस्पतालबाट सेवा सुचारु गर्ने तयारी भएपनि विविध कारणले ढिलाइ भएको उनले बताए । 

आधारभूत अस्पतालबाट सेवा सञ्चालन हुन अझै एक÷डेढ महिना लाग्न सक्ने स्वास्थ्य शाखा प्रमुख नाथले बताए । तर सामान्य प्रयोगशाला सेवा भने तुरुन्तै सञ्चालनमा ल्याउने तयारी गरेको उनको दाबी छ । 
आधारभूत अस्पताल बनिसकेकाले सबै ठाउँबाट प्रयोगशाला सेवा दिन नसकिने भएकाले अस्पतालबाटै व्यवस्थित रुपमा प्रयोगशाला सेवा प्रदान गरिने नाथको भनाइ छ । 

तर श्रीकोट स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र रहेका सेवाग्राहीहरुलाई आधारभूत अस्पताल पुग्नुभन्दा जिल्ला अस्पताल पुग्न सहज हुने भएकाले हचुवाको भरमा प्रयोगशाला सारिएको स्थानीयहरुको आरोप रही आएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update