बैतडी –नेपाली कांग्रेसले सञ्चालन गरेको सय दिने बिशेष अभियान बैतडीमा सम्पन्न भएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा अभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए ।
अभियानका केन्द्रीय प्रतिनिधि आङगेलु शेर्पाको सहभागितामा १० ओटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेर अभियान सम्पन्न गरिएको उनले बताए ।
नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउने, क्रियाशील सदस्यता वितरण र नवीकरण, पार्टीको विधानका बिषयमा जानकारी दिने, जनगुनासा सुन्ने लगायतका उद्देश्य राखेर अभियान सञ्चालन गरिएको उपसभापति बिष्टले बताए ।
बुधबार शहीद दिवसको अवसरमा परेर बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा कार्यक्रमको आयोजना गरेर अभियान समापन गरिएको केन्द्रीय प्रतिनिधि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले बताए ।
अभियानले बैतडी कांग्रेसलाई बलियो बनाउने आशा पलाएको उपसभापति बिष्टले बताए । अभियानको समयमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा समेत नागरिकसंग सम्पर्क रहीरहने कार्यक्रमहरु सञ्चालन गरिने उपसभापति बिष्टले बताए ।