Sagun Khabar
‘बैतडी कांग्रेसको उर्वर भूमी’ : केन्द्रीय सदस्य शेर्पा 

बैतडी –नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले बैतडी नेपाली कांग्रेसको उर्वर भूमी रहेको बताएका छन् । यो क्षेत्रमा आध्यात्मिक चिन्तन भएका मानिसहरुको बसोबास रहेकाले उनीहरु लोकतन्त्रका पक्षधर रहेका उनको भनाइ छ । 

नेपाल प्रेस युनियनले बैतडीको खोड्पेमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य शेर्पाले कांग्रेसको इतिहासमा बैतडीले महत्वपूर्ण योगदान गरेको बताए । 

Atrya hospital

नेपाली कांग्रेसले सञ्चालन गरेको एक सय दिने बिशेष अभियानका लागि बैतडीमा केन्द्रीय प्रतिनिधिको रुपमा खटिएका शेर्पाले अभियान सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । अभियानका दौरान बैतडीका १० ओटै स्थानीय तहमा जाने मौका मिलेको बताउँदै केन्द्रीय सदस्य शेर्पाले यो अभियानले कांग्रेसको संगठनलाई चुस्तदुरुस्त बनाउन सहयोग गरेको बताए । उनले भने,‘हामीले अभियानको दौरानमा सबै पालिकामा कार्यक्रम गर्यौं । कार्यक्रमका बेला नागरिकको कांग्रेसप्रतिको भरोसाका बिषयमा जानकारी पायौं । यसले हामीलाई उत्साहित बनाएको छ ।’

एक सय दिने बिशेष अभियान अन्तर्गत नेपाली कांग्रेसको क्रियाशील सदस्यता, संगठन सुदृढीकरण, नागरिकका समस्या र समाधानका लागि खेल्नुपर्ने भूमिका लगायतका बिषयमा छलफल भएको उनले बताए । 

यस्तै अभियानले नेपाली कांग्रेसभित्र रहेका असहमतिहरुलाई सम्बोधन गर्ने प्रयास गरेको समेत केन्द्रीय सदस्य शेर्पाले बताए । 

यस्तै बैतडीमा नेपाल विद्यार्थी संघ र सम्पर्क समितिमा देखिएको विवादका बारेमा जिल्ला कार्यसमितिलाई सहमतिको मार्ग प्रस्ताव गरेको समेत उनले बताए । 

यस्तै पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले एक सय दिने बिशेष अभियानले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन सहयोग गरेको बताए । 

पत्रकार सम्मेलनमा सहभागी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले जिल्ला नेतृत्वले सबै पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिए । सबै पक्षलाई समेटेमा मात्रै पार्टीको हित हुने उनले बताए । नेतृत्वमा समन्वयकारी भूमिकाको अभाव रहेको भन्दै ऐरले लोकतान्त्रिक प्रणालीबाटै हरेक समस्या समाधान निकाल्न सकिने बताए । 
 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update