Sagun Khabar
सुर्नया गाउँपालिकाको गाउँ सभा सम्पन्न 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ । लामो समयदेखि बस्न नसकेको गाउँ सभाको अधिवेशन मंगलबार सम्पन्न भएको हो । 

गाउँ सभाको १५ औं अधिवेशनले विनियोजन गर्न नसकेको बजेट विनियोजन गर्दै गाउँ सभा सम्पन्न भएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

Atrya hospital

गाउँ सभाको अधिवेशनमा ५ करोड ५९ लाख ३५ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ । उपाध्यक्ष मञ्जु बोहराले प्रस्तुत गरेको विनियोजित बजेट अनुसार प्रत्येक वडामा ४१ लाखका दरले ३ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

यसैगरी रौलाकेदार बहुमुखी क्याम्पसका लागि ८ लाख रुपैयाँ, खेलकुद क्षेत्रका लागि १० लाख, सिगास क्याम्पसका लागि १ लाख ५० हजार, न्यायिक समितिका लागि ५ लाख, कमलेश्वर चन्द्रमणी आधारभूत विद्यालयका लागि ६ लाख, चौपाडी–भण्डारघर रौलाकेदार सडकका लागि ८ लाख, सुर्नया २ स्थित केदार मन्दिरमा ध्वनीघर निर्माणका लागि ६ लाख, सडक बोर्डको साझेदारीका लागि ६ लाख २५ हजार र कक्षा समायोजन भएका विद्यालयहरुमा प्रविधिमैत्री शिक्षा कार्यक्रम सञ्चालनका लागि ९ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष बोहराले जानकारी दिइन् । 

गाउँसभामा प्रस्तुत गरिएको उक्त बजेट सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । यस्तै कार्यपालिका बैठकबाट भएका निर्णयहरु पनि सभाले पारित गरेको छ भने करारका कर्मचारीहरुको म्याद थप गर्ने निर्णय समेत पारित भएको अध्यक्ष कुँवरले बताए । 

सुर्नया गाउँपालिकाका नागरिकहरुको हितलाई ध्यानमा राखेर आफूहरुले काम गरिरहेको बताउँदै अध्यक्ष कुँवरले सभा सञ्चालमा केही ढिलाई भएको बताए । 

यस्तै गाउँसभाको बैठकमा भाग लिँदै गाउँ सभा सदस्य केशवबहादुर बिष्टले गाउँकार्यपालिकामा भएका निर्णयहरु सभा सदस्यहरुले पढ्न पाउनुपर्ने बताए । गाउँसभा सदस्यहरुलाई कार्यपालिका बैठकका निर्णयका बारेमा जानकारी दिने नगरिएको उनले आरोप लगाए । 

गाउँ सभा सदस्य बिष्टको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष कुँवरले प्रत्येक वडा कार्यालयमार्फत कार्यपालिकाका निर्णयहरुको बारेमा जानकारी दिइने स्पष्ट पारे । 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update