बैतडी –नेपाली कांग्रेसले सञ्चालन गरेको सय दिने बिशेष अभियान अन्तर्गत आज बैतडीको पञ्चेश्वरमा सम्पन्न गरिएको छ ।
संगठन निर्माणमा जुटौं, सदभावका साथ अघि बढौं भन्ने मूल नाराका साथ अभियान सञ्चालनमा रहेको नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टले बताए ।
क्रियाशील सदस्यता वितरण, पालिका तथा वडा सम्मेलनका लागि सहजीकरण, पार्टीको विधानका बारेमा जानकारी दिन, स्थानीय सरकारका कामहरुलाई प्रभावकारी बनाउन, स्थानीय नागरिकका गुनासा सुन्न र सम्बोधनका लागि पहल गर्ने लगायतका उद्देश्य राखेर अभियान सञ्चालन गरिएको कार्यवाहक सभापति बिष्टले बताए ।
पञ्चेश्वरको आम्चोरमा सम्पन्न भएको कार्यक्रममा अभियानका केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नेपाली कांग्रेसको संगठनलाई सुदृढ बनाउन र कांग्रेसजनका आवाज सुन्न अभियान सञ्चालन गरिएको बताए ।
स्थानीयस्तरमा रहेका कांग्रेसका क्रियाशील सदस्यहरुको धारणा सुनेर पार्टीलाई आगामी योजना बनाउन अभियानले सघाउने उनले बताए ।
कार्यक्रममा अभियानका पञ्चेश्वर संयोजक रमेशसिंह भण्डारी, नेपाली कांग्रेस बैतडीका उपसभापति खगेन्द्रसिंह धामी, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, महासमिति सदस्य उत्तरबहादुर ऐर, महासमिति सदस्य ईश्वरी भट्ट लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यसअघि जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा अभियान अन्तर्गतका कार्यक्रम सञ्चालन भइसकेका कार्यवाहक सभापति बिष्टले बताए ।
सय दिने बिशेष अभियान अन्तर्गत शनिबार शिवनाथको सुल्लेखानमा कार्यक्रमको आयोजना गरिने छ भने माघ १३ गते डिलाशैनीको धामीगाउँमा कार्यक्रम सञ्चालन हुनेछ ।
यस्तै माघ १४ गते दोगडाकेदारको चौगाउँ, माघ १५ गते पुर्चौंडी तल्लादेही र माघ १६ गते सिगासको गर्जेमा बिशेष अभियान अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने योजना रहेको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।
सिगासको गर्जेमा कार्यक्रम सञ्चालन गरेर बैतडीमा अभियानको समापन गर्ने योजना रहेको बताइएको छ ।