बैतडी–बैतडीकी महिला सवारी चालक रविना चन्दलाई सम्मानित गरिएको छ । महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल यातायात मजदुर संघ कञ्चनपुरले सुदूरपश्चिमकै प्रथम महिला सार्वजनिक सवारी चालक रविना चन्दलाई सम्मानित गरेको हो ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का घर भएकी १९ बर्षीया रविनाले एक बर्ष पहिला सवारी चालक अनुमति प्राप्त गरेकी थिइन् । त्यतिबेलादेखि उनी सार्वजनिक सवारी साधन चलाउँदै आएकी छन् ।
आफ्ना बुवा डबलबहादुर चन्दको प्रेरणा र घर परिवारको सहयोगबाट आफू सवारी चालकको रुपमा काम गर्न थालेको उनले बताए । घरमा गाडी भएपनि सवारी चालक नहुँदा आफूले सवारी चालक बन्ने सोच बनाएर अघि बढेको उनले बताइन् ।
नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीले सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित सम्मानित गरिएको जानकारी दिए ।
गाडी चलाउन सिकेको केही समयमै लाइसेन्स पनि निकालेकी रविना अहिले बैतडी–धनगढी–महेन्द्रनगर रुटमा गाडी चलाउँदै आएकी छन् । नेपाल यातायात मजदुर संघले गरेको सम्मानले आफूलाई पेशाप्रति थप प्रतिबद्ध भएर लाग्ने प्रेरणा मिलेको बताइन् । उनले भनिन्,‘यो सम्मानले मलाई थप हौसला बढेको छ । यो क्षेत्रमा काम गर्न थप सहज भएको छ ।’
महिला भएकै कारण कुनैपनि कामबाट वञ्चित गर्न नहुने बताउँदै रविनाले महिलाहरुलाई पनि आयआर्जनका काममा संलग्न गराउनुपर्नेमा जोड दिइन् । महिलाले वातारण पाएमा जुनसुकै काम गर्न पनि सक्षम रहेको बताउँदै उनले महिलामाथि हुने हिंसा कम गर्न समेत अर्थउपार्जनका काममा सरीक गराउनुपर्ने जोड दिइन् ।
सवारी चालकको रुपमा काम गर्न थालेपछि आफूलाई गर्व लागेको उनले बताइन् । अहिले सबैतिरबाट आफूले गरिरहेको कामको प्रशंसा भइरहेकाले यस्ता कामहरुमा महिलाहरुको सहभागिता बढाउनुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, ‘महिलाको क्षमता अभिवृद्धिमा काम गरिरहेका सरकारी तथा गैरसरकारी निकायहरुले यस्ता सीपमूलक तालिम दिनुपर्छ । यसले महिलाहरुको रोजगारीमा वृद्धि हुन्छ ।’