बैतडी–बैतडीको सुर्नया गाउँपालिकाभित्रका १ हजार ८४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइने भएको छ । देशव्यापी रुपमा यही माघ २२ गतेदेखि सञ्चालन हुने खोप अभियान अन्तर्गत सुर्नयामा माघ २३ गतेदेखि खोप अभियान सञ्चालन गर्ने निर्णय भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
बिहीबार बसेको पालिकास्तरीय खोप समन्वय समितिको बैठकमा एचपीभी खोप अभियानका बिषयमा जानकारी दिइएको उनले बताए । कक्षा ६ देखि १० सम्म अध्ययनरत १ हजार ८४ जना किशोरीहरुको तथ्यांक रहेकाले उनीहरुलाई खोप लगाइने महराले बताए । विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुलाई पनि खोप लगाउने तर यकिन तथ्यांक आउन भने बाँकी रहेको बताइएको छ ।
सुर्नयामा कक्षा ६ देखि १० सम्म पढाई हुने १९ ओटा विद्यालय र ८ ओटा स्वास्थ्यचौकीलाई खोप केन्द्र तोकिएको छ । पालिकामा माघ २३ देखि खोप अभियान सञ्चालन गर्ने र अन्तिम दिन स्वास्थ्यचौकीहरुमा खोप लगाइने महराले बताए ।
अभियान अन्तर्गत पालिकामा तयारी भइरहेको बताइएको छ । सोही अभियान अन्तर्गत ३० जना स्वास्थ्यकर्मीहरुका लागि दुईदिने प्रशिक्षण सम्पन्न गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । अभियानको समयमा लक्षित समूहका कोही पनि किशोरीहरु छुट्न नहुने भन्दै महराले खोप अभियानका सबैको सहयोग आवश्यक रहेको बताए ।
बैतडीमा १३ हजार ६ सय ५ जना कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरु रहेका छन् । उनीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिन लागिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए । विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुको यकिन तथ्यांक आउन बाँकी रहेको छ । उनीहरुलाई एचपीभी खोप दिइने भट्टले बताए । बैतडीमा खोप अभियानलाई सफल बनाउन तीव्र रुपमा तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।