बैतडी–लैङ्गिक हिंसा न्यूनीकरणका लागि सुदूरपश्चिममा ‘महिला समुत्थान परियोजना’ सञ्चालनमा ल्याइएको छ । एसियाली विकास बैंकको सहयोगमा परियोजना सञ्चालनमा आएको परियोजनाका अनुगमन अधिकृत कम्मान बिष्टले बताए ।
बैतडीमा बिहीबार आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा परियोजनाले गर्ने कार्य र लैङ्गिक हिंसा न्यूनीकरणका क्षेत्रमा भइरहेका कामहरुको बारेमा जानकारी दिइएको छ ।
लिंगका आधारमा हुने हिंसाहरुलाई अन्त्य गर्नका लागि परियोजनाले काम गरिरहेको परियोजनाका लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ मेनुका बस्नेत बिष्टले बताइन् । परियोजना अन्तर्गत प्रदेशका ९ ओटै जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेका उनले बताइन् ।
महिला समुत्थान परियोजना अन्तर्गत विभिन्न ठाउँमा महिला, बालबालिका तथा जेष्ठ नागरिक केन्द्र भवन निर्माण भइरहेका छन् । त्यस्ता भवन प्रहरी कार्यालयभित्र निर्माण गरिन लागेका हुन् । यस्तै कञ्चनपुरमा लैङ्गिक हिंसा प्रभावितहरुको लागि सुरक्षित आश्रयस्थल निर्माणको काम भइरहेको बिष्टले बताइन् ।
परियोजनाले लैङ्गिक हिंसा प्रभावितहरुको लागि सुरक्षित आश्रय, प्रहरीहरुलाई लैङ्गिकमैत्री अनुसन्धान तालिम,हिंसा रोकथामको क्षेत्रमा क्रियाशील संस्थाहरुको क्षमता अभिवृद्धि, सचेतनामूलक कार्यक्रम लगायतका कामहरु गरिरहेको बिष्टले बताइन् ।
सुदूरपश्चिममा पनि लैङ्गिक हिंसाका घटनाहरु बढीरहेकाले त्यस्ता घटनाहरुमा कमी ल्याउन र समाजमा जागरण पैदा गर्नका लागि परियोजनाले काम गरिरहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास महाशाखामा कार्यरत बिन्दु चटौतले बताइन् । परियोजना अन्तर्गत ९ ओटै जिल्लामा विभिन्न कार्यक्रम सञ्चालनमा रहेका उनले बताइन् ।
कार्यक्रममा सहभागीहरुले विभिन्न कारणले समुदायमा लैङ्गिक हिंसा भइरहेकाले यसको अन्त्यका लागि बहुपक्षीय प्रयास आवश्यक रहेको बताएका छन् । बैतडीको हकमा लागू पदार्थ र मादक पदार्थ सेवनका कारण लैङ्गिक हिंसाका घटना बढ्दै गएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । यसका साथै कानुनी सचेतनाको अभाव, सामाजिक तथा आर्थिक कारणले पनि लैङ्गिक हिंसाका घटना बढेका उनले बताए ।
समाजमा भइरहेका लैङ्गिक हिंसाका घटना पुरुषको तुलनामा महिलामाथि बढी हुने देखिएकाले महिलाहरुलाई अर्थ उपार्जनका कार्यक्रममा जोड्नुपर्ने दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताइन् ।