बैतडी–यही माघ २२ गतेदेखि सञ्चालन हुने एचपीभी खोप अभियानलाई प्रभावकारी बनाउन बैतडीको सुर्नया गाउँपालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिइएको छ ।
गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खोप अभियानलाई प्रभावकारी बनाउन प्रशिक्षण दिइएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
देशैभरी कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिने तयारी भइरहेको छ । सोही अनुसार पालिकामा पनि तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
बैतडीमा १३ हजार ६ सय ५ जना कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरु रहेका छन् । उनीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिन लागिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए ।
विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुको यकिन तथ्यांक आउन बाँकी रहेको छ । उनीहरुलाई एचपीभी खोप दिइने भट्टले बताए ।
बैतडीमा खोप अभियानलाई सफल बनाउन तीव्र रुपमा तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।