Sagun Khabar
प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रको कार्यक्रम बैतडीमा सञ्चालन 

बैतडी–प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपालले बैतडीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । जल,जमीन र जंगलमा देखिएका विवाद समाधान गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको हो । 

मंगलबार जिल्ला समन्वय समितिमा आयोजना गरिएको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा यो बिषयमा जानकारी दिइएको छ । प्राकृतिक श्रोत परिचालन र उपभोगमा देखिएका समस्या तथा द्वन्दहरु समाधान गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रका जिल्ला संयोजक भुवन शर्माले जानकारी दिए । 

स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र अन्य सरोकारावालाहरुको सहभागितामा जिल्लामा सञ्चालन हुने कार्यक्रमको बिषयमा जानकारी गराइएको छ । 

Atrya hospital

प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपालले लामो समयदेखि जल,जमीन र जंगलमा देखिएको द्वन्द समाधान गर्दै आएको र त्यस्ता प्रकृतिका द्वन्दहरु यो जिल्लामा भएमा समाधान गरिने शर्माले बताए । 

जिल्लाका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति लगायतका सरोकारवाला निकायहरुसंग समन्वय गरेर कार्यक्रम सञ्चालनमा ल्याइने शर्माले जानकारी दिए । जल,जमीन र जंगलमा देखिएका विवाद समाधानका लागि आफूहरुले काम गर्ने उनले बताए । 

प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपालले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले जिल्लामा यो कार्यक्रम आवश्यक रहेको र परिणाम देखिने हिसाबले काम गर्न सुझाव दिए । 

जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले जल, जमीन र जंगलका विवादहरु जिल्लामा प्रशस्त रहेकाले त्यस्ता विवाद समाधानमा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने आसा पलाएको उनले बताए ।

पहिलो चरणमा जिल्लाको मेलौली नगरपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा कार्यक्रम सञ्चालनका लागि अनुमति प्राप्त भएको भएपनि जिल्लाभरी कार्यक्रम लागू हुने केन्द्रका कार्यक्रम संयोजक शर्माले बताए । 

जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपालले गरिरहेको कामका बिषयमा केन्द्रका क्षेत्रीय संयोजक बल्लु चौधरीले जानकारी गराए । संस्थाले अहिलेसम्म जल,जमीन र जंगलको विवाद भएका ठाउँमा विवाद निरुपण गरेको बिषयमा जानकारी गराएका थिए । 

यस्तै सहभागीहरुबाट उठेका प्रश्नको जवाफ दिँदै क्षेत्रीय संयोजक चौधरीले स्थानीय सरकारहरुसंग मिलेर केन्द्रले काम गर्ने बताए । 

यसैबीच प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि जिल्ला सल्लाहकार समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको संयोजकत्वमा समिति गठन गरिएको चौधरीले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update