बैतडी–बैतडीको पाटन नगरपालिका–१ को कार्यालयले दुर्गम बस्तीमा एकीकृत सेवा दिन थालेको छ । वडा कार्यालयभन्दा भौगोलिक रुपमा टाढा रहेका बस्तीहरुलाई मध्यनजर गरेर एकीकृत सेवा दिन शुरु गरिएको पाटन नगरपालिका–१ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए ।
सोमबार वडाको दुर्गम बस्ती गराल्लेकमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेर सेवा प्रदान गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए । वडाबाट प्रदान हुने सबै प्रकारका सेवाहरु एकीकृत रुपमा उक्त बस्ती पुगेर प्रदान गरिएको उनले बताए । उनले भने ‘हामीले वडाका दुर्गम बस्तीमा एकीकृत सेवा दिन थालेका छौं । पहिलो दिन गराल्लेक बस्तीमा हामीले एकीकृत सेवा दियौं । अब अन्य दुर्गम बस्तीहरुमा पनि सेवा सञ्चालन गर्छौं ।’
मेलौली नगरपालिकासँग जोडिएको गराल्लेकमा सडक सञ्जाल र विद्युतको समेत पहुँच पुग्न सकेको छैन् । स्थानीय नागरिकको मार्कालाई ध्यानमा राखेर बस्तीमै पुगेर स्वास्थ्य सेवा, पशु स्वास्थ्य सेवा, लैंगिक हिंसा न्यूनीकरणका बिषयमा अन्तरक्रिया, विद्यालय अनुगमन, विद्यालय व्यवस्थापन समिति बैठक, समुदाय–प्रहरी साझेदारी कार्यक्रम लगायतका सेवाहरुमा एकीकृत रुपमा प्रदान गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए ।
उक्त क्षेत्रमा सडक र विद्युतको पहुँच पुर्याउने बिषयमा स्थानीय बासिन्दाहरुसंग छलफल गरिएको छ । गरल्लेक बस्तीलाई सडक सञ्जालमा जोड्न चालु आर्थिक बर्षमा बजेट विनियोजन गरिएको छ भने विद्युतको विस्तारको काम समेत भइरहेको वडा अध्यक्ष ठगुन्नाले बताए ।
वडा कार्यालयले प्रदान गर्ने सेवा टोल–बस्तीमै पाएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् । वडा कार्यालयले बस्तीमै एकीकृत रुपमा सेवा प्रदान गर्दा आफूहरुलाई सहज भएको स्थानीय कालुराम विकले बताए ।