Sagun Khabar
स्वास्थ्य कार्यालय बैतडीद्वारा पौष महिनामा सम्पादन भएका कामहरुको विवरण सार्वजनिक 

बैतडी–स्वास्थ्य कार्यालय बैतडीले पौष महिनामा कार्यालयमार्फत सम्पादन भएका कामहरुको विवरण सार्वजनिक गरेको छ । जनस्वास्थ्य बुलेटिन प्रकाशन गर्दै कार्यालयमार्फत एक महिनाको अवधिमा सम्पादन भएका कामहरुको विवरण सार्वजनिक गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए । 

कार्यालयमार्फत पौष महिनामा विभिन्न विद्यालयहरुमा आँखा,कान तथा दाँतसम्बन्धी शिविर सञ्चालन गरिएको र उक्त शिविरबाट ५२३ जना विद्यार्थीको आँखा जाँच,३४९जना विद्यार्थीको कान जाँच र ४३२ जना विद्यार्थीको दाँत जाँच गरिएको उल्लेख गरिएको छ । 

Atrya hospital

यसैगरी पौष महिनामा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको बुलेटिनमा उल्लेख गरिएको छ । ती शिविरहरुमा महिलाहरुको पाठेघरको चेकजाँच, पाठेघर खसेका महिलाहरुको प्राथमिक उपचार, गर्भवती महिलाहरुका लागि  अल्ट्रासाउण्ड लगायतका सेवा प्रदान गरिएका सूचना अधिकारी लेखकले बताए । कुलाउ स्वास्थ्यचौकी, शर्माली स्वास्थ्यचौकी, विशालपुर स्वास्थ्यचौकी, सकार बर्थिङ सेन्टर र वासुलिंग स्वास्थ्यचौकीमा शिविरहरु सञ्चालन गरिएको बताइएको छ । 

स्थानीयस्तरमा सञ्चालन भएका प्रजनन स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका सूचना अधिकारी लेखकले बताए । स्थानीयस्तरमै सेवा पाउँदा उनीहरुलाई सहज भएको उनले बताए । 

यस्तै पौष महिनामै जिल्लाका विभिन्न स्थानमा नसर्ने रोगहरुको चेकजाँचका लागि शिविर सञ्चालन गरिएका स्वास्थ्य कार्यालयको जनस्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ । पञ्चेश्वर स्वास्थ्यचौकी, मेलौली –३ स्थित आधारभूत स्वास्थ्य केन्द्र र सिगासको गाँजरी स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको जनाइएको छ । 

पछिल्लो समयमा नसर्ने रोगहरुका जनस्वास्थ्यको समस्याका रुपमा देखिन थालेका नसर्ने रोगहरुको चेकजाँच र उपचारका लागि शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

स्वास्थ्य कार्यालयले पौष महिनामा सम्पादन गरेका कामहरुको विवरणसंगै माघ महिनामा गरिने कामहरुको कार्ययोजना समेत सार्वजनिक गरेको छ । अब हरेक महिना नियमित रुपमा कार्यालयले सम्पादन गरेका कामहरु र कार्ययोजनाका बिषयमा जनस्वास्थ्य बुलेटिनमार्फत जानकारी गराइने सूचना अधिकारी लेखकले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update