बैतडी- बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मुस्याचोरमा खानेपानी योजनाको उद्घाटन गरिएको छ । वडामा निर्माणाधिन पडेलीगाउँ–मुस्याचोर–गुरुखोला लिफ्टिङ खानेपानी योजनाको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
बैतडीको क्षेत्र नं ख बाट निर्वाचित पूर्व सुदूरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्टले खानेपानी योजनाको उद्घाट गरेका हुन् । उनले सुख्खा फलफूल विकास केन्द्र परिसरमा बनेको खानेपानीको ट्याङ्कीमा रिबन काटेर योजनाको उद्घाटन गरेका हुन् । पूर्व प्रदेश सांसद भट्टले यो खानेपानी योजनाका लागि पहल गरेका थिए । उनलाई यहाँका नागरिकहरुले दोसल्ला ओडाएर सम्मान समेत गरेका छन् ।
खानेपानीको समस्या समाधानका लागि पहल गरेको भन्दै उनलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै पूर्व प्रदेश सांसद एवं एमाले नेता भट्टले आफुले निर्वाचित भएपछि २२ ओटा लिफ्ट खानेपानी योजनाका लागि पहल गरेको बताए । ती मध्ये उपभोक्ता समितिको सक्रियता भएको ठाउँका योजना निर्माण सम्पन्नको चरण रहेका उनले बताए । आफु निर्वाचि भएका बेला पनि जनताको साथमा रहेको र अहिले पनि जनताकै साथ रहेर काम गरिरहेको उनको भनाई छ । अगामी दिनमा पनी जनताका समस्या समाधानका लागि पहल गर्ने उनले बताए । यस्तै कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्कर राज जोशी लख्खाभाइले नगरबाट हुने सहयोगका लागि आफु तयार रहेको बताए ।
लिफ्टिङ प्रणाली मार्फत सतबाँझ खोलाको पानी मुस्याचोर बजारमा पुगेको हो । विकास प्रेमि सबैको सहयोगमा सतबाँझ खोलाको पानी मुस्याचोर बजारमा पुर्याउन सफल भएका पडेलीगाउँ–मुस्याचोर–गुरुखोला लिफ्टिङ खानेपानी योजना निर्माण समिति अध्यक्ष नरबहादुर टेरले जानकारी दिए । पाइपलाइन बिछ्याएर मुस्याचोर बजारमा पानी वितरण गरिएको उनले बताए । सतबाँझ खोलामा ६३ हजार क्षमताको ट्याङ्की निर्माण गरेर करिब ८ सय मिटरमाथि डाँडामा बनेको ८५ हजार लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण सुरु गरिएको युवा निर्माण व्यवसायी एवं खानेपानी योजना निर्माण समिति कोशाध्यक्ष केशब भट्टले बताए ।
यो योजनाबाट १ सय ३० घर परिवार लाभान्वित हुने उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारको बजेट मार्फत ४ वर्ष पहिले निर्माण प्रारम्भ भएको यो खानेपानी योजना अहिले निर्माण सम्पन्न हुने चरणमा छ । केहि प्राविधिक समस्याका कारण बिचमा रोकिएको खानेपानी योजनामा यहाँका निर्माण व्यवसायीले सक्रियता देखाएपछि धमाधम काम भएर अहिले मुस्याचोरमा पानी पुगेको युवा भुपेन्द्र चन्दले बताए । मुस्याचोर बजारमा खानेपानी पुगेपछि यहाँका नागरिकहरु खुसि भएका छन् । खानेपानीको अभाव हुँदै आएको बजारमा खानेपानी पगुेपछि धेरै खुसि लागेको युवा एवं व्यवसायी दिनेश प्रशाद भट्टले बताए ।
पानी अभावले होटेल सञ्चालनमा समस्या हुँदै आएकोमा अब सहज भएको उनले बताए । खानेपानीका लागि धेरै दुख भोगेको भन्दै स्थानीय कृष्ण दत्त भट्टले अब राहत मिलेको बताए । खानेपानी योजनाको केहि काम बाँकी रहेकाले छिटै सेवा क्षेत्र भित्रका नागरिकहरुको घरघरमा पानी पुग्ने निर्माण समितिको दावी छ । खानेपानी योजना उद्घाटन कार्यक्रममा दशरथचन्द नगरपालिकाका नगर प्रवक्ता अजब बहादुर पाण्डे,वडा नं १ का वड अध्यक्ष बिष्णु दत्त भट्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि , प्रहरी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबैतडीका प्राविधिक, बजार व्यवसायी लगायत स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो।