Sagun Khabar
बिसु पर्व मनाउन घर फर्कनेको लर्को 

बैतडी– सुदूरपश्चिमका जिल्लाहरुमा नयाँ बर्षको शुरुवातको दिन मनाइने बिसु पर्वका लागि घर फर्कनेको लर्को लागेको छ । भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट दैनिक स्वदेश फर्कनेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

रोजगारीका लागि भारत पसेका सुदूर र कर्णालीका विभिन्न जिल्लाका नागरिकहरु झुलाघाट नाका हुँदै घर फर्किन लागेका हुन् । मौसमी रोजगारीका लागि भारत पसेकाहरु बिसुका लागि घर फर्किन थालेका हुन् । 

बिसुको समयमा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा देवीदेवताका मन्दिरहरुमा पूजापाठ समेत हुने भएकाले परदेश गएकाहरु घर फर्किन थालेका स्थानीय आनन्दमणी भट्टले बताए । यो बर्ष चैत नवरात्री समेत यसै समयमा परेकाले घर फर्कनेको संख्या बढेको उनले बताए । 

Atrya hospital

बिसुपर्वमा धार्मिक पूजाआजा सम्पन्न गरी नयाँ वर्षको दिन तितेपातीले नुहाएर मौलिक परिकार माडा, बटुक भातलगायतका खानेकुरा खाने चलन रही आएको छ । 

बिसुपर्वलाई विवाहित छोरी माइती घर आएर दुःखका व्यथा पोख्ने दिनका रूपमा पनि लिने गरिन्छ । कहीँकतै देवरले भाउजू र भाउजूले देवरलाई सिस्नुपानी लगाउने पर्वका रूपमा पनि मनाउने गरेको पाइन्छ । तर पछिल्लो समयमा यो चलन भने लोप हुँदै गएको छ । 

झुलाघाट नाकाबाट एक महिनाको अवधिमा करिब पाँच हजार नेपाली स्वदेश फर्किएको प्रहरीको तथ्यांक छ । 

यो महिनाको अहिले सम्मझुलाघाट नाकाबाट तीन हजार ८९६ पुरुष र ८३८ महिला गरी चार हजार ७३४ जना नेपाली स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक जोशीले बताए । नेपाल–भारत सीमा नाकामा स्वदेश फर्किनेको घुइँचो लागेको उनले बताए । झुलाघाट नाकाबाट दैनिक दुई सयभन्दा बढी नेपाली घर फर्किने गरेका इलाका प्रहरी कार्यालय झुलाघाटले जनाएको छ । स्वदेश फर्कने यात्रुको सहजताका लागि झुलाघाट सीमामा प्रहरीको टोली खटाएको प्रहरी निरीक्षक जोशीले बताए । 

बिसुका लागि घर फर्कनेहरुको सहजताका लागि प्रहरीले सहयोग गरिरहेको जोशीले बताए । तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा कारवाही हुने उनले बताए । बिसुको समयमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न सक्ने भएकाले ठाउँठाउँमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यातायात व्यवसायी र यात्रु दुवै पक्षलाई प्रहरीले सम्झाउने गरेको प्रहरी निरीक्षक जोशीले बताए । उनले भने ‘हामीले चाडपर्वका बेला सवारी साधनमा भीडभाड हुन्छ । क्षमताभन्दा बढी यात्रु नबोक्न र यात्रुहरुले पनि सुरक्षित यात्रा गर्नुपर्ने कुरामा हामीले सम्झाउने गरेका छौं ।’

झुलाघाट नाकाबाट बिसु पर्वका लागि फर्कनेहरुलाई गन्तव्यसम्म पु¥याउन भ्याइनभ्याइ भएको सवारीचालक दानबहादुर क्षेत्रीले बताए । झुलाघाट नाकाबाट स्वदेश फर्किनेमा अधिकांश बैतडी र बझाङ जिल्लाका नागरिक रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update