Sagun Khabar
बैतडीको सुर्नयामा क्षयरोगमुक्त अभियान सञ्चालन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गतको कार्यक्रम सञ्चालनमा आएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले बैतडीको सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकासहितका १ सय २५ पालिकामा यो अभियान सञ्चालन गरेको छ । 

सुर्नया गाउँपालिकामा अभियान अन्तर्गतका कार्यक्रमहरु सञ्चालनका लागि पालिकास्तरीय संयोजन समिति गठन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । 

आइतबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको सहसंयोजकमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा रहेकी छन् । ८ ओटै वडाका अध्यक्षहरुलाई सदस्यमा राखिएको छ । 

Atrya hospital

यस्तै पालिकाभरीका दुईओटा स्वास्थ्य संस्थाका प्रमुख, गाउँपालिकाका शिक्षा शाखा प्रमुख, पालिका नजिकको एक विद्यालयका प्रधानाध्यापक र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत समितिमा राखिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

पालिकाका आठओटै वडामा वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन गरिने क्षयरोगमुक्त अभियान कार्यक्रमका संयोजक धुव्रचन्द्र जोशीले बताए । 

क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गत पालिकाभरी क्षयरोगका बिरामीहरुको खोजपडताल गरिनेछ भने खकार संकलन गरेर परीक्षणको काम गरिनेछ । समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाइ उपचारको दायरमा ल्याउनका लागि कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक जोशीले बताए । 

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीहरु लक्ष्य अनुसार अझै उपचारमा आएका छैनन् । समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउनका लागि कार्यक्रमले सहयोग गर्ने स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको छ भने ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने गर्दछ । 
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update