बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाको प्रतीक चिन्ह लोगोमा अछामको देवलहाटको तस्बिर राखिएको पाइएको छ । शहीद दशरथचन्द र नगरपालिकाको पहिचानसँग जोडिएका धार्मिक तथा पर्यटीयक क्षेत्र र इतिहास बोकेका विषयवस्तु समेटेर निर्माण गरिएको लोगोमा दशरथचन्द नगरपालिका ४ देवलहाटको भन्दै अछामको देवलहाटको तस्बिर राखिएको पाइएको हो ।
दनपाको लोगोमा रहेको तस्बिर बैतडीको देवलको नभइ अछामको रहेको वडा नं ४ देवलहाटका स्थानीय उद्धव सिंह मार्कन्डले बताए । नगरपालिकाको लोगोमा अछाममा रहेको देवलहाटको तस्बिर राखिएपछि अहिले नगरपालिकाको आलोचना समेत भैरहेको छ ।
दशरथचन्द नगरपालिकाले उक्त लोगो बनाएबाफत २५ हजार रुपैँया पुरस्कार समेत उपलब्ध गराएको थियो । नगरपालिकाको लोगो र दनपाको देवलहाटको तस्बिरमा निकै भिन्नता रहेको पाइएको छ । दनपाका युवाहरुले उक्त तस्बिर हटाएर बैतडीकै देवलहाटको तस्बिर राख्नु पर्ने बताएका छन् । यता नगरपालिकाले भने यसबारे बुझने बताएको छ ।
अछाम पञ्चदेवलको तस्बिर राखिएको दनपाको लोगो अहिले सामाजिक सञ्जालमा भाइरलनै बनेको छ । बैतडीको दशरथचन्द नगरपालिकाले गत चैतमा आफ्नो प्रतीक चिन्ह अर्थात ‘लोगो’सार्वजनिक गरेको थियो । झण्डै एक वर्ष पछि उक्त लोगोमा अछामको तस्बिर राखिएको पत्ता लागेपछि अहिले सामाजिक सञ्जाल तताएको छ ।