बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस खरिद गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट ३२ सिट क्षमताको नगर बस खरिद गर्ने भएको हो ।
नगर बस खरिदका लागि नगरपालिकाले एक सूचना समेत जारी गरेको छ । नगर बस खरिद गर्नका लागि बस उत्पादन गर्ने कम्पनी र त्यसको आधिकारीक बिक्रेताको सूचितयार पार्नका लागि एक सूचना जारी गरेको नगरपालिकाले जनाएको छ ।
सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद क्याटलग कार्यविधिबाट बस खरिद प्रकृया सुरु गरेको नगरपालिकाले बस उत्पादन गर्ने कम्पनी र त्यसको आधिकारीक बिक्रेताहरुलाई आवश्यक कागजात सहित ७ दिन भित्र निवेदन पेश गर्न सूचना मार्फत आह्वान गरेको छ । दशरथचन्द नगरपालिकाले गत वर्षमै ५५ लाख बजेट विनियोजन गरेर नगरब बस खरिद गर्ने योजना बनाएको थियो ।
तर अर्थ मन्त्रालयले संघीय अनुदानको पैसाबाट सवारी साधन खरिद नगर्न भनेपछि खरिद प्रकृया रोकिएको थियो । चालु आर्थिक वर्षमा बस खरिदका लागि ५१ लाख ५० हजार बजेट विनियोजन भएको नगर प्रमुख पुष्कर राज जोशीले बताए । चुनावी दौरानमा जनता समक्ष जनप्रतिनिधिहरुले नगर बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।
जनप्रतिनिधिहरुले अभिभारा सम्हालेको झण्डै दुई वर्ष पछि नगर बस खरिद प्रकृयामा गएको छ । नगरपालिका बस खरिदको प्रकृयामा गएपछि यहाँका नागरिकहरु पनि खुसि भएका छन् । जनप्रतिनिधिको चुनावी प्रतिबद्धताबाट नगरबसको प्रतिक्षामा बसेका नगरबासीहरु नगरपालिका बस खरिद प्रकृयामा गएपछि अहिले खुसि भएका छन् । नगर बस सञ्चालनमा आए यहाँका नागरिकहरुलाई यात्रा गर्न सहज हुने छ ।