Sagun Khabar
घुम्ती शिविरमार्फत हिउँदे फलफूलका बिरुवा विक्रि गर्दै सुख्खा फलफूल विकास केन्द्र 

बैतडी–बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले घुम्ती शिविरमार्फत हिउँदे फलफूलका बिरुवा विक्रि गर्न थालेको छ । बैतडी र आसपासका जिल्लाहरुका विभिन्न ठाउँमा पुगेर हिउँदे फलफूलका बिरुवा विक्रि गर्ने कार्य भइरहेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । 

केन्द्रबाट बिरुवा विक्रि नभएपछि यो बर्ष घुम्ती शिविरमार्फत विरुवा विक्रि गर्ने कार्य भइरहेको प्राविधिक सहायक खड्काले बताए । उनले भने ‘यो बर्ष केन्द्रबाट विरुवा विक्रि भएनन् । त्यसैले हामीले विभिन्न गाउँठाउँमै गएर विरुवा विक्रि गरिरहेका छौं । यसले किसानहरुलाई सहज पनि भएको छ ।’

Atrya hospital

गत बर्षहरुमा राष्ट्रिय फलफूल निर्देशनालयले श्रोतहरुको तोक्ने गरेको र यो बर्ष उक्त कार्य प्रदेश सरकारको जिम्मा लगाइएको थियो । प्रदेश सरकारले श्रोतहरु नतोक्दा विरुवा विक्रि नभएको बताइएको छ । बैतडीमा उत्पादित बिरुवा देशका विभिन्न भागमा विक्रि हुने भएपनि यो बर्ष भने हिउँदे फलफूलका बिरुवा विक्रि नभएको प्राविधिक सहायक खड्काले बताए । 

सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा यो बर्ष ५२ हजार ७८ बिरुवा उत्पादन गरिएका छन् । दाँते ओखर,स्याउ, नासपाती,आरु, आरुबखडा, खुर्पानी, कागजी बदाम र कटुसका बिरुवा उत्पादन गरिएका प्राविधिक सहायक खड्काले बताए । अहिले सम्म यो बर्ष केन्द्रमार्फत १४ हजार विरुवा विक्रि भएका छन् । 

सुख्खा फलफूल विकास केन्द्रले बैतडी सदरमुकाम,गोकुलेश्वर,ग्वाल्लेक,दोगडाकेदार, पाटन, खोड्पे लगायतका क्षेत्रमा शिविरमार्फत फलफूलका बिरुवा विक्रि गरेको छ । डडेल्धुरा, बैतडीको ढोल्यामोड र मेलौलीमा पनि घुम्ती शिविरमार्फत फलफूलका बिरुवा विक्रि गर्ने योजना रहेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख दिल्लीराज भट्टले बताए । 

सुख्खा फलफूल विकास केन्द्रले सरकारी दररेट अनुसार हिउँदे फलफूलका बिरुवा विक्रिवितरण गरिरहेको हो । घुम्ती शिविरमार्फत किसानहरुको घरदैलो हिउँदे फलफूलका विरुवा पुर्याउने कार्य जारी रहेकाले किसानहरुलाई सेवा लिन समेत आग्रह गरिएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update