बैतडी–बैतडीमा ९० हजार बाख्राहरुलाई पीपीआर खोप लगाइने भएको छ । भेडाबाख्रामा लाग्ने पीपीआर रोगबाट बचाउन हरेक बर्ष पीपीआर खोप अभियान सञ्चालन गर्ने गरिएको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख श्यामसिंह खड्काले बताए ।
जिल्लाका १० ओटै स्थानीय तहमा किसानहरुले पालेका बाख्राहरुमा पीपीआर खोप लगाइने उनले बताए । आगामी माघ महिनामा बाख्राहरुमा पीपीआर खोप लगाउने तयारी भएको कार्यालय प्रमुख खड्काले बताए ।
एक पटक लगाएको पीपीआर खोपले ३ बर्ष काम गर्ने भएपनि हरेक बर्ष नयाँ बाख्रा उत्पादन हुने भएकाले प्रत्येक बर्ष खोप अभियान सञ्चालन हुँदै आएको छ । पीपीआर रोग लागेमा उपचार नहुने भएकाले यसबाट बचाउन खोपमात्रै विकल्प भएको कार्यालय प्रमुख खड्काले बताए । उनले भने ‘बाख्राहरुमा महामारीको रुपमा देखिने पीपीआर रोग विरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गर्दैछौं । बाख्रापालनमा लागेका व्यवसायिक किसानहरुलाई यसले फाइदा पुग्ने हुन्छ ।’
कृषि मन्त्रालयको तथ्यांक अनुसार बैतडीमा १ लाख २९ हजार बाख्राको संख्या रहेको छ । जिल्लामा धेरै ठाउँमा किसानहरुले व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्काले बताए ।
किसानहरुको मुख्य जिविकोपार्जनको श्रोतको रुपमा रहेको बाख्रापालन व्यवसायलाई सहयोग पुर्याउन हरेक बर्ष पीपीआर खोप अभियान सञ्चालन गर्ने गरिएको खड्काले बताए ।
प्रत्येक पालिकामा पुगेर प्राविधिकहरुले बाख्राहरुलाई खोप लगाउने उनले बताए ।
बाख्रामा पीपीआर रोग लागेमा पखाला लाग्ने, र्याल सिगान बगाउने, उच्च ज्वरो आउने लगायतका लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् । यो रोगबाट किसानहरुलाई क्षति नहोस भनेर पीपीआर खोप लगाउने गरिएको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीले जनाएको छ ।