Sagun Khabar
तिहारअन्तर्गत आज गाईगोरु र गोबर्द्धन पूजा

बैतडी – यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईगोरु,  गोबर्द्धन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनेर सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

कतिपय ठाउँमा कार्तिक कृष्ण औंसीकै दिन गाईको पूजाआजा गर्ने परम्परा रही आएकाले हिजो नै गाईको पूजा गरेका छन् । यस्तै आज नै गोरु, किसान र हलोको पनि पूजा गरिँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई  गोबर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ ।

गोरुलाई पूजा गरी मीठा–मीठा खानेकुरा खान दिने तथा वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजा गरिन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । अस्ति बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिएको थियो । 

यो वर्ष तिथिको घटबढका कारण पाँच दिनमा सकिने तिहार ६ दिनसम्म लम्बिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु हुने तिहार यसवर्ष कात्तिक १ गते शनिवारदेखि शुरु भएको हो ।

भोलि तिहारको मुख्य दिन भाइटीका मनाईंदैछ । भोलि बिहान ११ बजेर ३९ मिनेटमा टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । तर भोलि दिनभरी नै टीका लगाउन सकिने समितिका सदस्य प्राध्यापक डा. देवमणि भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update