Sagun Khabar
एबीसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि पञ्चकोटीलाई 

बैतडी–बैतडीको देहीमाण्डौंमा सम्पन्न एबीसी टी–१० क्रिकेट प्रतियोगिताको तेश्रो संस्करणको उपाधि पञ्चकोटी युवा क्लबले हात पारेको छ । 

आज सम्पन्न भएको फाइनल खेलमा राजधानी एक्सप्रेसलाई १२ रनले पराजित गर्दै पञ्चकोटीले उपाधि रक्षा गरेको हो । उपाधिसँगै उसले ५१ हजार १ सय ५१ रुपैया नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

उपविजेतामा चित्त बुझाएको राजधानी एक्सप्रेसले नगद २२ हजार २ सय २ रुपैयाँ हात पारेको प्रतियोगिता संयोजक लवकुश बोहराले बताए । 

निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गर्दै पञ्चकोटी युवा क्लबले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनायो । 

१२८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको राजधानी एक्सप्रेस १० ओभरमा ८ विकेट गुमाउँदै ११५ रनमा समेटियो । 

यसअघि आजै भएको सेमीफाइनल खेलमा पञ्चकोटी त्रिपुरालाई पराजित गर्र्दै फाइनलमा पुगेको थियो भने राजधानी एक्सप्रेस डिजे वारियरलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । 

प्रतियोगिताभरी ३ सय ३० रन बनाएका राजधानी एक्सप्रेसका दिपक बोहरा म्यान अफ द सिरिज चुनिए । उनले ५ हजार १ सय नगदसहित ट्रफी हात पारे । 

यस्तै बेस्ट ब्याट्सम्यानको उपाधि पनि बोहराले नै हात पारे । सो बाफत उनले नगद ३ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । 

यस्तै प्रतियोगिताभरी ११ विकेट लिएका राजधानी एक्सप्रेसका भुपेन्द्र चन्द बेस्ट बलर चुनिए । उनले नगद ३ हजार १ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । 

डिजे टु पोइन्ट ओ का प्रशान्त भण्डारी उदयमान खेलाडी चुनिए । उनले नगद १ हजार र ट्रफी प्राप्त गरे । 

सम्बन्ध शक्ति नेपालको आयोजनामा गएको असोज २८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा २२ टीमको सहभागिता रहेको थियो । 

प्रतियोगिताका विजेता, उपविजेता र अन्य खेलाडीहरुलाई क्लबका अध्यक्ष हिरा बोहरा, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा, दशरथचन्द नगरपालिका–२ का वडा अध्यक्ष सूर्यबहादुर बोहरा, प्रतियोगिता संयोजक लवकुश बोहरा लगायतले पुरस्कार वितरण गरे । 

स्थानीयस्तरमा खेलाडीहरुको क्षमता अभिवृृद्ध गर्ने, नयाँ खेलाडीहरु उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

2-1761050095.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update