Sagun Khabar
बैतडीको पाटनमा युवाहरुले शुरु  गरे सामूहिक च्याउ खेती

बैतडी –बैतडीको पाटनमा युवाहरुले सामूहिक रुपमा च्याउ खेती शुरु गरेका छन् । एक लाखको लगानीमा ६ युवाहरुले मिलेर पाटन बजार क्षेत्रमै च्याउ खेती शुरु गरेका हुन् । 

कृषि तथा भेट प्राविधिक अध्ययन गरेका युवाहरुले पाटनमा सामूहिक च्याउ खेती गरेका हुन् । जमीन भाडामा लिएर च्याउ फलाएको च्याउ खेतीमा संलग्न युवा अमरप्रसाद भट्टले बताए । 

Atrya hospital

फर्म नै दर्ता गरेर सामूहिक रुपमा च्याउ खेती  गरिरहेका युवाहरुले अहिले प्रतिकेजी २८० देखि ३०० का दरले च्याउ विक्रि गरिरहेका छन् । 

स्वदेशमै केही गरौं भन्ने भावनाका साथ आफूहरुले सामूहिक रुपमा च्याउ खेती शुरु गरेको भट्टले बताए । उनले भने ‘अहिले हामी ६ जनाको समूह बनाएर च्याउ खेतीमा लागेका छौं । कृषिबाटै केही गर्न सकिन्छ भन्ने सन्देश दिन हामीले यो कार्य शुरु गरेका हौं ।’

अमरप्रसाद भट्ट, गौतमप्रसाद अवस्थी, निराजन पन्त, दिनेश भट्ट, भुवन भट्टराई र पुष्पा पन्त मिलेर सामूहकि च्याउ खेती गरिरहेका हुन् । 

कृषि पेशाबाटै आम्दानी गर्न सकिने भएकाले आफूहरु यसमा लागेको सामूहिक च्याउ खेतीमा लागेकी पुष्पा पन्तले बताइन् । अबका दिनमा यसलाई अझै विस्तार गर्ने आफूहरुको योजना रहेको उनले सुनाइन् । 

च्याउ खेतीमा पाटन नगरपालिकाले समेत सहयोग गर्नुपर्नेमा युवाहरुको जोड रहेको छ । कृषि क्षेत्रको बजेट दुरुपयोग हुने गरेको भन्दै भट्टले उद्यम गर्न चहाने युवाहरुलाई नगरपालिकाले सहयोग गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update