Sagun Khabar
गेमिङ र आईटी उद्योगलाई ग्लोबल बनाउन नीतिगत सहजता र कर छुटको व्यवस्था गर्ने प्रधानमन्त्री शाहको घोषणा  

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा गेम डेलभलपमेन्ट (खेल विकास) र सूचना प्रविधि (आइटी) क्षेत्रलाई उद्योगको रूपमा अगाडि बढाउन नीतिगत सुधार र कर सहजताका लागि गृहकार्य अघि बढाइएको बताउनुभएको छ ।  

सामाजिक सञ्जालमार्फत सुचना सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेपालमै बनेका लुडो (करिब २० करोड डाउनलोड) र कल ब्रेक (डेढ करोडभन्दा बढी डाउनलोड) जस्ता चर्चित गेमहरूले संसारभर नाम कमाइसकेको उल्लेख गर्नुभएको छ । 

साथै सयौँ युवाहरू गेम एप निर्माणमा तल्लीन रहेको सन्दर्भमा उहाँले हालै सम्बन्धित क्षेत्रका व्यवसायी तथा युवाहरूसँग छलफल गरी उनीहरूका समस्या बुझेको जानकारी दिनुभएको छ ।   प्रधानमन्त्री शाहले  नेपालबाटै ‘ग्लोबल युनिकर्न’ कम्पनी बनाउन सहज हुने गरी नियम र वातावरणको पुनरावलोकन गरिने उल्लेख गर्नुभएको छ ।  

यस्तै आईटी प्रोडक्ट र एक्सपोर्टको प्रगतशील अवस्थालाई मध्यनजर गर्दै कर सहजता, नीतिगत सुधार र अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी नियमहरूलाई अझ सहज बनाइने र गेम जाम, स्टार्टअप इभेन्टस्, राष्ट्र बैंक र अर्थ मन्त्रालयसँगको नियमित अन्तरक्रिया, ह्याकाथोन तथा समग्र आईटी र गेमिङ उद्योगलाई फाइदा पुग्ने क्षेत्रमा लगानी बढाइने बताइएको छ ।   यस किसिमको पहलले नेपालको प्रविधि क्षेत्र र युवा प्रतिभाहरूलाई थप ऊर्जा प्रदान गर्ने तथा देशको अर्थतन्त्रमा आईटी क्षेत्रको योगदानलाई उकास्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update