Sagun Khabar
बालीनालीमा वन्यजन्तुले क्षति पुर्याएको भए निवेदन डिभिजन वन बैतडीको आग्रह 

बैतडी –वन्यजन्तुहरुले बालीनालीमा क्षति पुर्याएको भए राहतका लागि निवेदन दिन डिभिजन वन कार्यालय बैतडीले आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै बालीनालीमा वन्यजन्तुले क्षति पुर्याएको भए रीतपूर्वक निवेदन दिन आग्रह गरेको हो । 

वन्यजन्तुबाट हुने क्षति राहत निर्देशिका २०८० अनुसार बालीनालीमा क्षति भएमा राहत दिने व्यवस्था रहेकाले किसानहरुलाई निवेदन दिन आग्रह गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए । 
वन्यजन्तुले बालीनालीमा क्षति पुर्याएको भएमा वडा कार्यालयको प्रतिनिधि, प्रहरी प्रतिनिधि र वन कर्मचारीसहितको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको मुचुल्का र क्षति भएको ठाउँ देखिने प्रष्ट फोटोसहित कागजात पेश गर्न सूचनामा उल्लेख गरिएको छ । 

Atrya hospital

जंगली बँदेल, बाँदर लगायतका जंगली जनावरहरुले बालीनालीमा क्षति पुर्याएको भएमा बढीमा १० हजार राहत दिने व्यवस्था रहेको डिभिजन वन कार्यालयका प्रमुख कँडेलले बताए । राहत निर्देशिका बमोजीम क्षति भएका किसानहरुलाई राहत उपलब्ध गराइने उनले बताए । 

बैतडीका किसानहरुले वन्यजन्तुबाट बालीनालीमा क्षति व्यहोर्दै आएका छन् । जंगली बँदेल र बाँदरका कारण बढी जसो क्षति हुने गरेको किसानहरुले बताएका छन् । जंगली जनावरकै कारण कतिपय ठाउँमा किसानहरुले खेत बाँझै राखेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update