बैतडी- बैतडीको पाटन नगरपालिका वडा नं. ८ स्थित जसुलीखालीमा गएराति दुइवटा पसलमा तोडफोड र चोरी भएको छ । स्थानीय केशवराज अवस्थीको पसलमा केहि नगद र समान चोरी समेत भएको छ भने मान सिह ऐरको होटलको ढोका फोडी भित्र गल्ला समेत फोडेको छ ।
अज्ञात समूहले रातिको समयमा पसलको ताला फोडी गल्लाबाट केहि नगदका साथै विभिन्न सामानहरू चोरी गरी लगेको केशवराज अवस्थीले जानकारी दिए । आज बिहान पसल खोल्न जाँदा ताला फोडी भित्रका सामान तथा नगद चोरी भएको देखेका थिए ।
घटनापश्चात् व्यवसायीले चोरी तथा तोडफोडमा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाही गर्न प्रहरी चौकी खोडपेसँग आग्रह गरेका छन् ।
यस क्षेत्रमा पछिल्लो समय चोरी तथा तोडफोडका घटना बढ्न थालेकाले शान्ति सुरक्षा चुस्त बनाउन र रात्रिकालीन गस्ती बढाउन पनि स्थानीयले प्रहरी चौकी खोडपे तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी खोडपेले जनाएको छ ।




