बैतडी–बैतडीको सिगासमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ ।
सिगास गाउँपालिका–९ चौखाम, चौपाता घर भएका अन्दाजी १७ बर्षीय अनिल विकको सेकुनाडी भीरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष कृष्ण धामीले बताए ।
बझाङको देउलेकबाट सामान लिएर घर फर्किदै गर्दा बुधबार साँझ ७ बजेतिर विक भीरबाट लडेर डेढसय मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष धामीले बताए ।
उदयदेव मावि गन्सुरमा कक्षा १० मा अध्ययनरत विकको कलिलै उमेरमा निधन भएपछि चौखाम गाउँ शोकमा डुबेको छ ।
यस्तै बुधबार सिगास गाउँपालिका–६ थलाका एक युवक भीरबाट लडेर गम्भीर घाइते भएका छन् ।
बझाङको देउराबाट सामग्री ल्याएर घर फर्किदै गर्दा सिगास –७ थलाका अन्दाजी ३७ बर्षीय उद्धवसिंह धामी बोरीगाउँ नजिकैको भीरबाट लडेर घाइते भएका हुन् । बाटोमाथिको भीरमा भारी ठोक्किँदा धामी लडेर सेती नदीको किनारमा परेका थिए ।
भीरबाट लडेर घाइते भएका धामीको धनगढीमा उपचार भइरहेको स्थानीय सूर्यबहादुर बोहराले बताए ।




