दार्चुला –दार्चुलामा शनिबार साँझ भएको जिप दुर्घटनाका घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । शैल्यशिखर नगरपालिका ३ कर्कले भन्ने स्थानमा भएको जिप दुर्घटनामा चालक सहित ३ जना घाइते भएका थिए ।
चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३४ बर्षीय मानसिंह टमाटाको टाउको चोट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । यस्तै दुर्घटनामा परी घाइते भएका शैल्यशिखर नगरपालिका २ का ३० बर्षीय किरण कामी र बैतडीको डिलाशैनी गाउँपालिका ३ का २८ बर्षीय दिपक लुहारको अवस्था मध्यम रहेको उनले बताए ।
घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।
दार्चुलाको गोकुलेश्वरबाट बैतडीको गण्न्नातर्फ गइरहेको से १ ज ११०४ नम्बरको जिप शनिबार साँझ साढेसात बजेतिर दुर्घटनामा परेको थियो । जिप सडकबाट २ सय मिटर तल खसेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।