बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका–५ सेटीगाउँका एक युवक व्यवसायिक फूल खेतीमा फूल खेतीमा लागेका छन् ।
गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा बिएस्सी एजीको पढाइ गरिरहेका नवीनराज जोशी पढाइका साथसाथै फूल खेतीमा लागेका हुन् । फूल खेतीका माध्यमबाट उद्यमी बन्ने प्रयासमा लागेको जोशीले बताए ।
पहिलो चरणमा आफ्नो बारीमा कर्मा ५५५ जातको ३ सय बोट सयपत्रीको फूल रोपेका जोशीले यसलाई निरन्तरता दिने सोच बनाएका छन् ।
सयपत्री फूलको खेती शुरुवात गरेकै बर्ष यसको माग बढ्दै गएकाले व्यवसायिक फूल खेतीमा आफूलाई हौसला बढेको जोशीले बताए । यो बर्ष बारीमा १ सय २० केजी फूल फूल्ने अनुमान गरेका जोशीले दशैँको समयमा चार सय रुपैयाँ प्रतिकिलाको दरले फूल विक्रि गरेको बताए ।
तिहारका लागि सयपत्री फूलको माग आइसकेको र माला बनाएर विक्रि गर्ने जोशीले बताए । यो बर्षदेखि व्यवसायिक फूलको खेती गर्दै आएका जोशीले यसलाई निरन्तरता दिने बताएका छन् ।
पहाडी क्षेत्रमा पनि व्यवसायिक रुपमा फूल खेती गर्न सकिने आत्मविश्वास बढ्दै गएको जोशीले बताए । हिउँदको सिजनमा फूल्ने फूल खेतीको तयारीमा लागेको जोशीले बताए । उनले भने, ‘गमलामा फूल्ने होचो जातको फूल खेती गर्ने पनि सोचीरहेको छु । गमलासहित फूल विक्रि गर्ने तयारीमा लागेको छु । घर सजावट र अन्य सजावटमा गमलासहितको फूल विक्रि हुने अपेक्षा रहेको छ ।’
कृषि बिषयको अध्ययन गरिरहेका जोशीले आफूले पढेको बिषयलाई व्यवहारिक प्रयोगमा ल्याउन लागेको बताए । फूलखेतीसँगै व्यवसायिक तरकारी खेतीमा समेत आवद्ध रहेको उनले बताए ।
कृषि पेशाबाटै आत्मनिर्भर बन्न सकिने भएकाले आफूले व्यवसायिक फूल खेती र तरकारी खेतीमा ध्यान दिएको उनको भनाइ छ । उनले भने, ‘कृषि पेशाबाट आत्मनिर्भर बन्न सकिन्छ । त्यसैले केही नयाँपन दिएर यो पेशामा आवद्ध भएको हुँ ।’





