बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी खेलमैदानमा एबीसी कप टी–१० क्रिकेट प्रतियोगिताको चौथो संस्करण आइतबारदेखि शुरु भएको छ ।
हरेक बर्ष दशैं र तिहारको उपलक्ष्यमा आयोजना हुँदै आएको प्रतियोगितामा २० टीमको सहभागिता रहेको प्रतियोगिता संयोजक लवकुश बोहराले बताए ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख १ सय ११ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोश्रो हुने टीमलाई नगद ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिने आयोजक समितिका प्रकाश बोहराले बताए ।
यस्तै हरेक म्याचका म्यान अफ दिन म्याचलाई आकर्षक ट्रफी र मेडल प्रदान गरिने बताइएको छ ।
प्रतियोगितामा म्यान अफ दि सिरिजलाई ७ हजार ५ सय नगदसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै बेस्ट ब्याट्सम्यानलाई ५ हजार एक सय नगदसहित ट्रफी र प्रमाण पत्र, बेस्ट बलरलाई ५ हजार एक सय नगदसहित ट्रफी र प्रमाण पत्र र उदयीमान खेलाडीलाई ३ हजार १ सय नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक बोहराले बताए ।
कार्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन चार खेल खेलाइने संयोजक बोहराले बताए ।
स्थानीयस्तरमा क्रिकेटको खेलको विकास, प्रतिभावान खेलाडीहरुको पहिचान, खेलकुद गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक बोहराले बताए ।
आइतबार सम्पन्न भएका चारखेलमध्ये पहिलो खेलमा गुरुखोला लायन्सले निङ्ग मिडिया ११ लाई पराजित गर्दै जित दर्ता गरेको छ । यस्तै दोश्रो खेलमा पनि गुरुखोलाले शाहीलेक सुपर किंग्सलाई पराजित गर्दै क्वाटर फाइनलमा पुगेको छ ।
यस्तै तेश्रो खेलमा शाहीलेक सुपर किंग्सले निङ्ग मिडिया ११ लाई पराजित गर्दै जित हासिल गरेको छ भने चौथो खेलमा शिवशक्ति वारियर्सले जेनजी ११ लाई पराजित गर्दै जित हासिल गरेको छ ।
प्रतियोगितामा आज पनि चार खेल हुने प्रतियोगिता संयोजक बोहराले बताए ।





