Sagun Khabar
सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ । 

सुर्नया गाउँपालिका वडा नं १ हटैराज घर भएका ६५ बर्षीय ढोलीको उपचारको क्रममै मृत्यु भएको सुर्नया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष धनबहादुर चन्दले बताए । 

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका दासी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । उनी लामो समयदेखि मृगौलाको डाइलासिस गर्दै आएका थिए । उनकोे आइतबार कञ्चनपुरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

दलित अभियान्ताका रुपमा समेत परिचित दासी दलित अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका थिए । नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका उनी समाज सुधारका लागि प्रयत्नरत रहेका थिए । 

मृतक ढोलीको घरमा श्रीमती र एक छोरा रहेका छन् । दासी ढोलीको निधनले एक सामाजिक अभियान्ताको अवसान भएको बताइएको छ । 

यसैबीच सुर्नया गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । गाउँ कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको शोकमा मंगलबार गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतमा शोक बिदा रहने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

ढोलीको निधनले गाउँपालिकालाई अपूरणीय क्षति भएको अध्यक्ष कुँवरले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update