दार्चुला –जबरजस्तीकरणी आरोपमा पक्राउ परेका दार्चुलाका एकजना वडाध्यक्षलाई कारागार चलान गरिएको छ । जबरजस्तीकरणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान गरिएका हुन् ।
अध्यक्ष धामीमाथि गाउँकै एक महिलालाई जबरजस्तीकरणी गरेको आरोप लागेका थियो । अदालतको आदेश अनुसार बुधवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो ।
प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथी अभियोग लगाई अदालत पेश गरेपछि जिल्ला अदालत दार्चुलाले अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
उनिमाथी गाउँकै एक महिला माथी गत माघ २० गते राति घरमै गएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो ।
धामी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।