बैतडी- दार्चुलाको दोस्रो ठुलो बजार गोकुलेश्वरको फोहोर लामो समय सम्म पनि नउठेपछि स्थानीयहरुले नगरपालिकामा लगेर फालेका छन् । पटकपटक आग्रह गर्दा पनि बजारको फोहोर व्यवस्थापन नभएपछि आक्रोशित स्थानीय व्यापारीहरुले शैल्यशिखर नगरपालिकाको परिसरमा फालेका हुन् ।
गोकुलेश्वर बजार क्षेत्रमा थुप्रिएको फोहोर आफैले सङ्कलन गरी नगरपालिकाका परिसरमा फालेको स्थानीयले जानकारी दिए ।स्थानीय तथा व्यापारीहरुले नगरप्रमुखको कार्यालय छेउमा नै लगेर फोहोर फालेका हुन् । शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर बजारबाट निस्किने फोहोर विगत लामो समयदेखि उठेको छैन् । फोहोरको उचित व्यवस्थापन नगरिदा बजार क्षेत्र दुर्गन्धित बनेको छ ।
बजारमा फोहोरको चाङ लाग्दा समेत नगरपालिकाले चाँसो नदेखाएको,अव्यवस्थित फोहोरले बजारको स्वरूप नै कुरूप भएपछि बाध्यभएर नगर परिसरभित्र फालेका स्थानीयको भनाई छ । फोहोर व्यवस्थापनको लागि डम्पिङ साइडको अभाव भए पनि नगरपालिका मौन बसेको स्थानीयहरुको आरोप छ ।