Sagun Khabar
बैतडीको शिवनाथले १ सय ७१ जनालाई सीपमूलक तालिम दियो 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले चालु आर्थिक बर्षमा १ सय ७१ जनालाई विभिन्न सीपमूलक तालिम दिएको जनाएको छ । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यम विकास शाखाले तालिम सञ्चालन गरेको हो । 

‘आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार’ भन्ने नारासहित सीपमूलक तालिम सञ्चालन गरेको गाउँपालिकाका उद्योग विकास शाखा प्रमुख भुपेन्द्र पाण्डेयले बताए । चालु आर्थिक बर्षमा गाउँपालिकाले ८० जना दलित समुदायका नागरिकलाई उद्यमशिलता विकास तालिम दिएको जनाएको छ । ८ दिने तालिममार्फत उनीहरुलाई उद्यमतर्फ आकर्षण गराउनका लागि तालिम दिएको पाण्डेयले बताए । 

यस्तै २५ जनालाई ७ दिने सिन्के धुप उत्पादन तालिम, १६ जनालाई २ महिने सिलाई–कटाइ तालिम, १२ जनालाई मेसिनद्वारा होजीयारी तालिम दिएको गाउँपालिकाले जनाएको छ । 

यस्तै विभिन्न उद्यममा संलग्न रहेका १४ जनालाई औद्योगिक भ्रमण तथा लघुबित्त पहुँच कार्यक्रममा सहभागी गराएको गाउँपालिकाले जनाएको छ । 

युवाहरुलाई लक्षित गरेर उद्योग विकास शाखामार्फत तालिमहरु सञ्चालन गरिएका गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने खालका तालिम सञ्चालन गरिएको अध्यक्ष साउँदले बताए । उनले भने ‘हामीले गाउँपालिकाका तर्फबाट विभिन्न समयमा सीपमूलक तालिम सञ्चालन गरेका छौं । यसबाट नागरिकलाई केही सहयोग पुगेको हामीले विश्वास गरेका छौं ।’

गाउँपालिकाको उद्योग विकास शाखामार्फत गाउँपालिकाबासीलाई सीपमूलक तालिम दिएको र यी तालिमहरुले उनीहरुलाई स्वरोजगार बन्न सहज हुने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए । 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update