Sagun Khabar
रसुवा बाढीमा बेपत्ता बैतडीका केशव बिष्टको कुशको शव बनाएर अन्तेष्टी गरियो 

बैतडी–रसुवा बाढीमा बेपत्ता भएका बैतडीको सुर्नया गाउँपालिका–५ ककस्यालीका २५ बर्षीय केशव बिष्टको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । 

बेपत्ता भएको दुई महिनासम्म पनि केशवको अत्तोपत्तो नभएपछि परिवारले कुशको शव बनाएर आज अन्तेष्टी गरेको मृतकका ठूलबुवा भानबहादुर बिष्टले जानकारी दिए । भदौ १० गतेको बाढीपछि सम्पर्कविहिन भएका केशवको खोजीका लागि सबै पहल गर्दा समेत फेला नपरेपछि धार्मिक विधि अनुसार कुशको शव बनाएर आज चनैराज आर्यघाटमा अन्तेष्टी गरिएको उनले बताए । 

बुधबार बिष्टको कुशको शव बनाइएको थियो । उनको घरबाट शवयात्रासहित मलामीहरु चनैराज आर्यघाट पुगेका थिए । 

केशवको खोजीका लागि गरिएका सबै पहलहरु निष्फल भएपछि उनको परिवार कुशको शव बनाएर अन्तेष्टी गर्ने निर्णयमा पुगेको थियो । 

रसुवास्थित लाङटाङ हाइड्रो पावरमा बिष्ट विगत दुई बर्षदेखि सव–इन्जिनियर पदमा कार्यरत रहेका थिए । रसुवा बाढीपछि उनी बेपत्ता भएका थिए ।

गाउँको एक होनहार युवा बाढीले बेपत्ता बनाएपछि ककस्याली गाउँ शोकमा डुबेको छ । उनका परिवार र आफन्तजनलाई सम्हालिन गाह्रो भएको छ । 

बिष्टको घरमा आमा–बुवाका साथै एक भाइ र बहिनी रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update