Sagun Khabar
अर्णव चक्रवातको सम्भावित जोखिमबाट सुरक्षित रहन बैतडी प्रशासनको आग्रह 

बैतडी –बंगालको खाडीमा विकसित अर्णव चक्रवातका कारण बिहीबारदेखि शनिबारसम्म बर्षा, हावाहुरी, चट्याङ र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन बैतडी प्रशासनले आग्रह गरेको छ । 

चक्रवातको प्रभावका कारण बर्षाको समयमा नदीहरुमा जलस्तर बढ्न सक्ने, बाढी, पहिरोजस्ता जोखिमहरु निम्तिन सक्ने भएकाले सुरक्षित भएर बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । 

यो समयमा मौसमसम्बन्धी आधिकारिक सूचना र जानकारी लिन र सोही अनुसार निर्देशन पालना गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बर्षा शुरु हुनु अघि नै पाकेको धानबाली भित्र्याउन आग्रह गरिएको छ भने बर्षाको समयमा नदी किनारमा आवतजावत नगर्न आग्रह गरिएको छ । 

यस्तै जोखिमयुक्त सडक क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको प्रशासनले विपद्सम्बन्धी कुनै घटना भएमा तत्काल नजिकको स्थानीय तह, प्रहरी र सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ । 
मौसम पूर्वानुमान महाशाखाले निकालेको पछिल्लो मौसमी बुलेटिनअनुसार देशका केही ठाउँमा भरेदेखि पर्सि शनिबारसम्म ठूलो वर्षा र हिमपात हुनेछ भने आइतवारदेखि मौसममा सुधार आउनेछ ।

कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै ठाउँमा मेघ गर्जन र चट्याङ तथा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका एक÷दुई ठाउँमासमेत ठूलो वर्षा र हिमपातको सम्भावना छ ।

पर्सि शनिवारसम्म धान नकाट्न, उच्च हिमाली भूभागमा नजान र सुरक्षित ठाउँमा रहन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न मौसमविद्हरुले सुझाव दिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update