बैतडी –सरकारले सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुबेला रोग विरुद्ध ६ महिनादेखि १५ बर्षमुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला खोप दिइने भएको हो ।
सुदूरपश्चिमका तीन जिल्लामा दादुराको महामारी देखिएको र यो महामारी अन्यत्र पनि फैल सक्ने भएकाले जोखिमयुक्त जिल्लाहरुमा अभियानको रुपमा खोप दिन लागिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
प्रदेशको बाजुरा, कैलाली र कञ्चनपुरमा खोप अभियान सञ्चालन हुने जनाइएको छ । परिवार कल्याण महाशाखा खोप शाखाले सूचना जारी गर्दै नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।
दादुरा रोगमा छिटो फैलिने र मृत्युदुर पनि उच्च रहन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ । पहिला जति पटक दादुरा रुबेला खोप लगाएको भए पनि यस अभियानमा अनिवार्य एक मात्रा खोप लगाउन र अकालमै मृत्यु हुनबाट जोगिन महाशाखाको अनुरोध छ ।




