बैतडी–बैतडीको पाटन नगरपालिकाले समुदायस्तरमा देखिने विवाद निरुपणका लागि सामुदायिक मेलमिलापकर्ता खटाएको छ । नगरपालिकाको न्यायिक समितिले प्रत्येक वडामा दुई जनाका दरले मेलमिलापकर्ता खटाएको नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक कमलसिंह बोहराले बताए । न्यायिक समितिलाई विभिन्न विवाद निरुपणको अधिकार दिइएको र मेलमिलापकर्ताहरुलाई न्यायिक समितिको सहयोगीकै रुपमा खटाएको उनले बताए ।
सामुदायिक मेलमिलापकर्ताहरुलाई ८ दिनको आधारभूत तालिम दिएर वडावडामा खटाइएको उपप्रमुख एवं न्यायिक समिति संयोजक बोहराले बताए । पालिकाभरी २० जना मेलमिलापकर्ता खटाइएको छ ।
मेलमिलापकर्ताहरुलाई समुदायमा देखिने विवादहरुलाई निष्पक्ष रुपमा निरुपणका लागि सीप सिकाइएको बताइएको छ । गाउँघरमा देखिने विभिन्न खालका विवाद र असमझदारीहरुलाई हल गर्नका लागि सामुदायिक मेलमिलापकर्ताहरुको महत्वपूर्ण भूमिका रहने बोहराले बताए । उनले भने ‘हामीले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउनका लागि मेलमिलापकर्ताहरुलाई तालिम दिएर खटाएको छौं । यसले गर्दा नागरिकलाई सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ ।’
तालिमप्राप्त सामुदायिक मेलमिलापकर्ताहरुले समुदायका विवाद निरुपणका लागि पहल गर्ने बताएका छन् । समाजमा प्रतिष्ठित छवि बनाएका नागरिकलाई सकेसम्म सामुदायिक मेलमिलापकर्ता नियुक्त गरिएका छन् । लामो समयसम्म शिक्षण पेशामा आवद्ध भएर अहिले मेलमिलापकर्ताको रुपमा रहेका देवसिंह ऐरीले समाजका विवाद निरुपणमा आफूहरुले पहल गर्ने बताए । विवादित पक्षहरुलाई मिलाउने काममा आफूहरुको सक्रियता रहने उनले बताए । उनले भने ‘हामी कुनै दुई पक्ष मध्ये कसैले हराउने वा जिताउने भन्ने हुँदैन् । दुवै पक्षलाई जितको अवस्था सिर्जना गर्ने हाम्रो प्रयास रहनेछ ।’
सामुदायिक मेलमिलापकर्ताहरुले समुदायमा सदभावको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अधिवक्ता हरिदत्त भट्टले बताए । उनले भने ‘समुदायमा मेलमिलापको वातावरण बनाइराख्न मेलमिलापकर्ताहरुको महत्वपूर्ण भूमिका रहन्छ । उनीहरुका कारण समुदायमा सदभावको वातावरण समेत बनीरहन्छ ।’




